बिराटनगर । कोरोना संक्रमणका कारण बिराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको छ । आइतबार बेलुकादेखि सोमबार बिहानसम्मको अवधीमा बिराटनगरका पाँच वटा अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन तथा न्युरो अस्पतालको कोभिड १९ अस्पताल, विराट नर्सिङहोम, नोबेल र विराट मेडिकल कलेजको आइसोलेसनमा एक–एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये पाँच महिला र दुई पुरुष छन् ।
मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो । विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ । उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार दिउँसो कोभिड अस्पताल भर्ना गरिएको थियो । यसैगरी विराट नर्सिङ होममा मोरङको रंगेलीका वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । असोज २८ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
न्युरो अस्पतालमा उपचाररत एक वृद्धाको मंगलबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ गते न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । असोज २६ गते कोरोना पोजेटिभ देखिएकी महिलालाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
यस्तै झापा विर्तामोड–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मंगलबार बिहान करिब साढे ८ बजे उनको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको थियो । यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको मृत्यु भएको छ । इटहरी सुनसरीका ५६ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए । मृतकमा १ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । सोमबार बीपी प्रतिष्ठान भर्ना भएका उनको राति करिब साढे ९ बजे मृत्यु भएको हो ।