Aamsanchar

तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने

Author Image
बुधवार, कार्तिक ५, २०७७

काठमाडौं । तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालनको मिति किटान गर्न भने बिहीबार चिनियाँ पक्षसंग छलफल हुने भन्सार कार्यालयले जनाएको छ । सम्भवतः दसैँलगत्तै नाकाबाट व्यापार नियमित हुने भन्सार प्रमुख लालबहादुर खत्री बताउँछन् ।

तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका ठप्प भएको थियो । अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । चीनले नै तयार गरेको नेपालतर्फको भन्सार यार्डसम्म सामान ल्याइदिने सहमति भएको भन्सार प्रमुख खत्रीले बताए । नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइरहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘अब नेपाली श्रमिकहरु चीनतर्फ जानुनपर्ने भयो, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिनेछन्,’ उनले भने ।

नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनिया पक्षले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्नेगरी तयारी गरिएको छ । यसरी सामान ढुवानी गर्दा दिनमा ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आउनेछन् । यता रसुवागढी नाका भने नियमित सञ्चालनमा रहेको रसुवागढी भन्सारले जनाएको छ । यो नाका भएर दैनिक ६ वटा चिनियाँ कन्टेनरहरु आईरहेको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्काले जानकारी दिए । नाकाबाट औषधि तथा खाद्यवस्तु आयातका लगि पहिलो प्राथमिकता दिएको खड्काले बताए । यस्तै विकास निर्माणका सामान तथा औजार र उपभोग्य वस्तुहरुको आयात पनि निरन्तर रहेको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर