Aamsanchar
Adv top
Adv below_nav

आज फूलपाती (कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे को आराधना)


सप्तमीको यो विशेष दिनलाई फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ‘फूलपाती’ भित्राइन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कालरात्रि स्तूती मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

अर्थातः
कालरात्री देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाइलाई कोटी-कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।

नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्‍याउने चलन थियो । नेपाल एकिकरणदेखि नै एकता र सांस्कृतिक प्रतिक गोर्खा जिल्लासंग नेपालीको पहिचान जोडिएको छ, तसर्थ गोरखाको फूलपाती विशेष हुनेगर्दछ । काठमाण्डौको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैघरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ्ग जिल्लाको जीवनपुर हुँदै भित्राइने चलन थियो ।

लोकतन्त्र आगमनपछि यो एतिहासिक चलनलाई निरन्तरता नदिएपनि थोरै फूलपाती भएपनि मोटरसाईकलमा काठमाडौसम्म ल्याइने गरिएको स्थानिय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तबमात्र फूलपाती भित्राउने चलन छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरवारका कर्मचारीहरु सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती संकलन गर्न निस्किन्छन्, यसरी सङ्कलनगरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सतीपिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ । उक्त फूलपातीलाई विशेष मौलिक सिङ्गारपटार गरेर, झकीझकाउ बनाएर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ, दरबारबाट आएका विशेष टोलीहरुले वाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रागरेर फूलपाती दरवार भित्राउने चलन छ । यस्तो शोभायात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपातीलाई काठमाण्डौ ल्याएपछी नेपाली सेनाको एकटुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन पनि रहेको छ ।

गोरखाबाट ल्याईएको फूलपाती हनुमान ढोका स्थित तलेजु मन्दिरमा भित्रयाउने काम हुदै ।

अर्कोतर्फ गाउँघरमा आजबाट औपचारीक रुपमा लिङ्गेपिङ हालिन्छ, खरको डोरी र टुप्पो नकाटिएको हरियो चारवटा बाँसलाई गाडेर बनाइने यो पिङ दशैंको अर्को रौनक हो, जुन सदियौंदेखि दशैंमा मनोरञ्जन गरीने एउटा मौलिक साधनको रूपमा प्रचलित छ । मान्छे चढेर मच्चिएपछी बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ, दशैंको यस विशेष अवधिकाबिच एकपटक भएपनि भूँई छोडनु भन्ने चलन छ, पिङ चढेका बखत भुई छोडिन्छ र मच्चिउनञ्जेल प्रकृतिको खुल्ला काखमा पञ्छिझै स्वतन्त्र भइ यो शरीरले स्वाँस भर्छ, अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

गाँउघरमा माहौल पक्कै पनि रोमाञ्चक छ, मुग्लान पसेका साथीभाइ आफन्तजन, प्रियजन आफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन रु शहर बस्नेहरु पनि गाँउठाउँ फर्केका छन् कि छैनन ? कत्तिका आमाबुवा, दिदि वहिनी, दाजू भाईका मन हर्षले गदगद होलान त कति प्रतिक्षाका आँखा ओछ्याइ पर्खि बसेका होलान् । छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्तानै घरमा भेला भएको हुनपर्दछ । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमैं अतूलनीय छ, आजैबाट खसीबोका काट्ने तथा वलि कार्य प्रारम्भ भइसक्यो ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।