Aamsanchar

तिहार आयो मादल बिक्री भएन

Author Image
मङ्गलवार, कार्तिक २५, २०७७

मेचीनगर।   हरेकवर्ष यमपञ्चक नजिकिँदै गर्दा काँकरभिट्टा बजारमा मादल खरीद गर्नेको भीड ठूलै लाग्ने गर्दथ्यो । स्वदेशीमात्र होइन विदेशी ग्राहक समेतको रोजाइमा पर्ने मादल विक्री गर्न पसललेलाई भ्याइ नभ्याई हुन्थयो । यो वर्षको यमपञ्चक भित्रिन तीन दिन बाँकी रहदाँ सम्म अहिले मादल खरीद गर्नेको कुनै चहल पहल छैन् ।

मादल खरीद गर्न मानिस नआउँदा अहिले सुदुरपूर्वको मेचीनगरस्थित काँकरभिट्टा बजारमा लामो समयदेखि मादलको व्यवसायी गर्दै आएका व्यावसायीहरु समेत निक्कै फूसुर्दिला छन् । तिहारमा देउँसी, भैँलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री शुरु भए पनि व्यापार भने खासै नभएको झण्डै डेढदशक अघिदेखि काँकरभिट्टामा मादलसहित खुकुरीको व्यापार गदैं आउनुभएका ज्ञानेन्द्रकुमार घिमिरे बताउनुहुन्छ । यसअघिका तिहारमा ३० देखि ४५ वटा मादल बिक्ने गरेकामा यो वर्ष व्यापार निकै कम भएको उहाँको भनाई छ ।

उहाँका अनुसार नोवल कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिम नभएको भए यतिबेला काँकरभिट्टामा स्थानीयमात्र होईन भारतको सिक्किम, दार्जिलिङ्ग, कालेम्पोङ्ग, खर्साङ्ग, आसामलगायतका ठाउँबाट मादल खरिदका लागि मानिसहरु आउने गर्दथे । अहिले तिहारको चहलपहल नभएकै कारण पनि मादलको व्यापार घटेको घिमिरेको भनाई छ । कोभिड १९ संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी, भैलो खेल्ने अवस्था नभएका कारण मादल किन्ने कोहि नभएको व्यवसायीहरुको भनाई छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को असर मादल व्यावसायमा पनि परेको व्यवसायी केवी लिम्बुको भनाई छ । गतवर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार शून्य भएपछि अहिले फुर्सदमा रहेको लिम्बुको भनाई छ ।

कोरोना संक्रमणको जोखिमले तिहारको समयमा देउसी—भैलो खेल्ने अवस्था नभएपछि मादल व्यावसाय पनि सुस्ताएको लिम्बु बताउनुहुन्छ । ४३ सालदेखि काँकरभिट्टामा मादल बेच्दैं आउनु भएका लिम्बु नोवल कोरोना भाइरस कोभिड १९ का कारण यो वर्ष व्यावसाय निराशा भएको बताउनुहुन्छ । गत वर्षहरुको तिहारमा डेढसय मादल विक्री गर्नुभएका लिम्बुको पसलबाट अहिले दैनिक एउटासम्म विक्री हुन समेत कठिन छ । कहिले त सातदिनमा एउटा पनि विक्री हुदैन् । कोरोना संक्रमणका कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार घटेको काँकरभिट्टाका मादल व्यवसायीहरु बताउँछन् ।

यो तिहारका बेला मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको भए पनि अहिले भने त्यसको तुलनामा निकै कम भएको मादल ढाका पोते पसलका सञ्चालक खड्गबहादुर श्रेष्ठको भनाई छ ।

केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन रहेको स्मरण गदैं श्रेष्ठले तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्नेहरुको थुप्रै समूह पाइन्थ्यो अहिले त्यो परिस्थिती नभएका कारण मादल व्यवसायीहरुको व्यवसाय समेत चौपट्ट बनेको गुनासो गर्नुभयो । अहिले काँकरभिट्टा बजारमा नयाँ मादल त निकै कम मात्रामा बिक्री भएको उहाँको भनाई छ । केही केहीले पुराना मादल मर्मतसम्भार गरेका छन् ।

यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको उनीहरुको भनाई छ । मादलको मुल्य आकार र गुणस्तरमा भरपर्ने व्यवसायीहरुको भनाई छ । न्यूनतम १ हजार ३ सय देखि १२ हजार रुपैयाँसम्म मादलको मुल्य पर्ने व्यवसायी लिम्बुले बताउनुभयो ।

पछिल्लो समय मादलभन्दा क्यासेट बजाएर देउसी खेल्ने तथा नाच गर्ने चलनले मादलको बिक्री कम हुँदै गएको थियो । कोभिड १९ ले व्यापार व्यवसायमा असर त पारेको छ नै हामीले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्न नसक्दा हाम्रो सभ्यता नै लोप हुने खतरा हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान बेलैमा जान जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर