Aamsanchar

आज लक्ष्मीपूजा

Author Image
शनिवार, कार्तिक २९, २०७७

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभकार्यमा अनिवार्य जस्तै केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ । यि द्वारहरु बाट वर्षभरि खुशी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !

टोलछिमेकका चेलीबेटीहरू आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरूले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रे मौलिक स्वाद लिन पाइने यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । औँशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरू, आजको दिन घर अनि टोललाई दुलही झै सिँगारिएको हुन्छ । दलान, पीढी, अँगेनो, मूलखाँबो लगायत हरेक झ्याल, ढोकाहरूमा आज बत्ती बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरू राखिनुको साथै विभिन्न प्रकारका झिलमिल विद्युतीय बत्तीहरू पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तीहरुको झिलमिल प्रकाश भित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।

आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ‘गौ माताको सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्बीहरूले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाईका हरेक कुराहरू पूजायोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यिनै गौमाताको गौँत अभिषेक सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाईको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारकै छ ।

आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइला रुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।

रङ्गहरू, बत्तीहरू अनि पर्वीय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तीका रुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तीहरुझै हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलेनीका आशिषहरू हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । यसपाला कोरोना त्रासले दशैं पनि दशैं जस्तो भएन र तिहार पनि अनेक ठाँउमा निष्पट्ट अँध्यारो मात्र हुनेछ होला, तर आगामी वर्षहरुको आशा अनि विगतका याद का साथै यस वर्ष पनि तिहारको रौनक कायम राख्दै सुरक्षित बस्ने हाम्रो प्रतिवद्धता रहनेछ । रङ्गोलीका उमङ्गहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 535

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१