Aamsanchar

अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान: स्वास्थ्यमन्त्री ढकाल

Author Image
शनिवार, मंसिर ६, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजारको परीक्षण भइसकेको जानकारी दिनुभयो । सामर्थ्यअनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उहाँको भनाइ छ ।

मन्त्री ढकालले विश्वमा कोरोनाविरुद्धको खोप उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भइ प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली जनतालाई पनि ‘भ्याक्सिन’ दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यानकेन्द्रित गरी काम गरिरहेकोे बताउनुभयो । उहाँले अहिलेपनि कुल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत ‘होम आइसोलेसन’मा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताउनुभयो ।

‘जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको’
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घर–घरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको बताउनुभयो ।

उहाँले चुनावमा भोट माग्न जनताको घर–दैलोमा पुगेजस्तै कोरोना रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु घर–घरमा पुग्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले दलहरुले पनि आफ्ना भ्रातृसंस्थाहरुलाई परिचालन गरी गाउँ–गाउँमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर