Aamsanchar

चीनबाट युरिया मल बंगलादेशभन्दा पहिले आइपुग्ने

Author Image
आइतवार, मंसिर ७, २०७७

काठमाडौं । बंगलादेशबाट सापटीमा ल्याउने भनिएको युरिया मल कहिले आउने, नआउने अझै टुङ्गो छैन तर त्योभन्दा पछि प्रकृया शुरु गरेको चीनबाट भने मल आइपुग्ने भएको छ । भदौंको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग फोन वार्ता गरी ५० हजार मेट्रिक टन युरिया मल पैंचो ल्याउने सहमति गरेका थिए । सहमति गरेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बंगलादेशबाट मल ल्याउने प्रकृया पनि शुरु गर्यो तर सो देशले अन्त्यमा सापटीमा होइन, पैसामा मात्र मल दिने भन्यो ।

भदौभित्र ५० हजार मेट्रिक टन मल ल्याईदिने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोज कम्पनीले समयमा मल नल्याईदिएपछि मलको हाहाकार भएको थियो । सो हाहाकारलाई पुरा गर्नका लागि सरकारले तत्कालै बंगलादेशबाट युरिया मल सापटी ल्याउने निर्णय गरेको थियो । तर बंगलादेशले सापटीमा होइन, खरिद गरेर लैजान प्रस्ताव गरेपछि नेपालले पनि खरिद गरेरै ल्याउने निर्णय गर्यो । बंगलादेशबाट मल खरिद गरेर ल्याउने भनि मन्त्रिपरिषद्बाट निर्णय गरेको पनि दुई साताभन्दा बढी भइसक्यो तर त्यो निर्णय अझै मन्त्रालयमा थन्केको छ ।

मन्त्रिपरिषद्को निर्णय कृषि मन्त्रालयभन्दा अगाडि बढेको छैन । मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले जि टु जी वा प्रतिस्पर्धाबाट मल ल्याउने निर्णय गरेको छ । त्यसअघि कृषि मन्त्रालयले जि टु जीबाट मल ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा गरेको थियो । तर मन्त्रालय जी टु जी वा प्रतिस्पर्धाबाट खरिद गर्ने निर्णय गरेकै कारण अहिले अकमर्णयतामा परेको छ ।

प्रतिस्पर्धा गर्नेकि जी टु जीबाट ल्याउनेमा मन्त्रालय अहिले अन्योलमा छ । यस्तै अन्योलका कारण बंगलादेशबाट मल ल्याउने सम्भावना कम हुँदै गइरहेको छ । यता, बंगलादेशभन्दा पहिले चीनबाट युरिया मल आइपुग्ने सम्भावना देखिएको छ । चीनबाट सात महिनाअघि ३० हजार मेट्रिक टन मल ल्याउन टेण्डर गरिएको थियो । सो टेण्डरमार्फत चीनबाट कलकत्ता बन्दरगाहसम्म मल आइपुगेको छ । केही दिनमै सो मल नेपाल आइपुग्ने कृषि समाग्री केन्द्र लिमिटेडले जनाएको छ ।

कृषि समाग्री कम्पनी लिमिटेडले मल ल्याउनका लािग ढुवानी कम्पनी पनि छनौट गरिसकेको छ । बोरा पनि तयार गरिसकेको छ तर बंगलादेशबाट मल ल्याउने कुराको  अझै सुनिश्चित भएको छैन । कृषि समाग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीले बंगलादेशबाट मल ल्याउन आफूहरु तम्तयार बसेको तर हालसम्म मन्त्रालयले प्रकृया पुरा नगरेको बताए । मल ल्याउने सबै प्रकृया पुरा गरेर दिए मात्र आफूहरुले ल्याउने उनले बताए ।

बंगलादेशबाट मल ल्याउने कुरा दुवै देशको सरकार–सरकारको बीचमा कुराकानी भइरहेको छ । यसमा कृषि समाग्री केन्द्र लिमिटेडले केही गर्न सक्दैन । कृषि समाग्री केन्द्रले ढुवानी गरेर त्यसको व्यवस्थापन मात्र गरिदिने हो । त्यसका लागि दुवै देशको सरकारले काम गरिरहेको छ । कृषि मन्त्रालयका निमित्त सचिव योगेन्द्र कार्कीले बंगलादेशबाट मल खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको बताए । खरिद गरेर मल ल्याउने प्रकृया शुरु भएको बताउँदै उनले चाँडै नै बंगलादेशबाट मल ल्याईपुर्याउने दावी गरे । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर