Aamsanchar

चरम आर्थिक संकटमा गायक सुरेश गन्धर्व, रमेश प्रसाई द्वारा सहयोगको अपील

Author Image
सोमवार, मंसिर ८, २०७७

एकताका जनजनको ओठमा झुण्डिएको  रिङकेबुङको रागोलाई भन्ने सब्दलाई लयवद्ध जोसिलो ढंगले गाएर चर्चामा आएका पुराना गायक सुरेश गन्धर्व यतीवेला आर्थिक अभावका कारण उपचार गर्न नसकेर थलिएका छन् ।

सिके श्रेष्ठले रचना गरेको गीत आजभोली पनि उत्तिकै चर्चामा रहेको छ, चर्चित वक्ता रमेश प्रसाईले उक्त गीत गाएर युवा पुष्तामा पनि गीतलाई चिनाएका छन् भने सो गीत गाउने सिलसिलमा गायक गन्धर्वको लागि आर्थिक सहयोगको अपील पनि गरेका छन् ।

६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका उनले थाहाँ पाउँदा देखिनै सारङ्गी बजाउने गर्दथे । सारङ्गी रेट्दै हिँडेको करिब ५० वर्ष बढी भएको छ । जीवनमा उनले धेरै गीत गाए । धेरैको मन जिते । तर पछिल्लो समय सुरेश गन्धर्वको स्वास्थ्यमा समस्या देखिएपछि दुई छाक टार्न धौ धौ परेको छ ।

लामो समय देखि कर्मथलो धरानलाई बनाएका सुरेश गन्धर्व यति बेला धरान ८ बरगाछीमा कोठा भाँडामा बस्छन् । उनलाई पछिल्लो समय मुटु रोग, युरिक एसिड ( वाथ), सुगर ( मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूले च्यापेको छ ।

उनी भन्छन् ‘‘ लकडाउन नहुँदा दिनको ४–५ सय रुपैयाँसम्म आम्दानी हुन्थ्यो, चाडपर्व हुँदा हजार बाह्र सय कमाउँथे, अहिले लकडाउन सँगै कोरोनाको कहरका कारण आम्दानी छैन, रोगी भएर थलिएको छु ।

उनकी काइँली छोरी तारा गन्धर्वले भनिन् सारङ्गी बाध्य वादनबाट बुबाले केही पैसा ल्याउनु हुन्थ्यो । बिरामीले थला परे पछि कमाउने कोही छैनन् । दैनिक गुजारा गर्न निकै सकस परेको छ । गन्धर्व जातिको पुर्खौली पेसा नै सांरगी बजाउनु भएकाले गर्दा आफू यस पेसामा खुसी रहेको सुरेश बताउछन् । उनी भन्छन् म बाँचिरहे सम्म सारङ्गी बजाई रहन्छु । गाउन धेरै मन छ तर स्वास्थ्यले साथ नदिने उनी बताउँछन् ।

२०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङकेवुङके राँगोलाई बोलको गीत रेकड गरेका थिए । पारिश्रमिक बापत उनले त्यति बेला २५ सय पाएका थिए । २०६० सालमा नेपालमा सांरगी बाध्य वादनमा दोश्रो भएर पुरस्कृत समेत भएका थिए ।

कलाकर्मीलाई देशको गहना भने पनि त्यसलाई सरकारले व्यवहारमा उतार्न नसक्दा वरिष्ठ कलाकारहरू समेत बुढेसकालमा पुगेपछि बेसहारा बन्नु परेको साथै कसैले पनि याद समेत नराख्ने गरेकोमा उनको गुनासो छ । लोक साङ्गीतिक क्षेत्रमा योगदान पुराएका गन्धर्वलाई कुनै यति बेला कुनै पनि सङ्घ संस्थाहरू, स्थानीय तह, सरकार, साङ्गीतिक संस्था , नेताहरूले आर्थिक सहयोगको त परको कुरा सोधपुछ समेत नगरेको उनी बताउँछन् ।

मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी र विद्यादेवी भण्डारीको साथमा समेत एकताका सांरगी बजाएर हिँडेको उनी बताउँछन् । पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पनि रिङकेवुङके राँगोलाई बोलको गीत गाएर नचाएको उनी पुरानो कुरा सम्झन्छन् ।

त्यो बेला जल्दो बल्दो उनै सुरेश गन्धर्व यति बेला आफ्नो स्वास्थ्यमा आएको प्रतिकुल अवस्थासँग पैठेजोरी खेलिरहेका छन् । उनी भन्छन् लोक भाका र सारङ्गी माया गर्नेहरूले मलाई सहयोग गरिदिनुस् । लोक बाजा सारङ्गीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छु । श्रोत: कपुरी न्युज

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 359

प्रतिक्रिया (०)

सम्बन्धित खबर