Aamsanchar

सीमा विवादका कारण सम्बन्ध चिसिएको पृष्ठभूमिमा भारतीय विदेश सचिव श्रंगला आउँदै,नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने

Author Image
बिहिवार, मंसिर ११, २०७७

मंसिर ११ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगला बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउनु हुने उहाँले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेका श्रंगलाले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी उहाँले यसै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

पछिल्लो पटक दुई देशबीच लिम्पियाधुरा कालापानी क्षेत्रमा भएको सीमा विवादका कारण सम्बन्ध चिसिएको पृष्ठभूमिमा विदेश सचिव श्रंगला काठमाडौं आउन लाग्नुभएकाले यसलाई चासोपूर्वक हेरिएको छ । दुई देशबीच चिसिएको सम्बन्धको तातो विषय सीमा विवाद भए पनि श्रंगला यस पटक यो विषय नउठोस् भन्ने पक्षमा रहेको दाबी गरिएको छ । सिधै सीमाभन्दा दुई पक्षीय अरु विषयमा कुराकानी केन्द्रित गर्ने चाहना भारत पक्षको रहेको जानकारहरु बताउँछन् ।

दुबै देशका परराष्ट्र मन्त्रालयले सोमबार निकालेको विज्ञप्तिमा यसलाई उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरता भन्दै कालापानीलगायत विवादित सीमा क्षेत्रको बारेमा छलफल हुने नहुने केही उल्लेख गरेका थिएनन् ।

शुक्रबार भने श्रृंगलाले नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने जनाइएको छ । एशियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा उहाँले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा बोल्नुहुनेछ ।

कार्यक्रममा विभिन्न थिङ्क ट्याङ्क, राजनीतिक दलका नेता, सरकारी अधिकारी, कूटनीतिक मिसनका पदाधिकारीहरु र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागि हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर