Aamsanchar

यसवर्ष चिसो छल्नका बेँसीतर्फ झर्न सकेनन् हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दाहरु

Author Image
शुक्रवार, मंसिर १२, २०७७

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दाहरु यसवर्ष चिसो छल्नका लागि बेँसीतर्फ झर्न सकेका छैनन् । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोडिभ–१९)को संक्रमणको जोखिमका कारणले गर्दा उनीहरु बढ्दो चिसोमा पनि यसपटक भने मुस्ताङमै बस्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

विगतका वर्षहरमा कात्तिक महिनाको सुरुआतसँगै जाडो छल्न मुस्ताङीहरु न्यानो क्षेत्रतर्फ लाग्ने गरेका थिए । तर यसवर्ष भने मंसिरको दोस्रो हप्ता बितिसक्दा पनि कोरोनाको डरले उनीहरु आफ्नो क्षेत्रबाट बाहिर निस्कन पाएका छैनन् । उपल्लो मुस्ताङको अधिकांश क्षेत्रहरु पुरै खाली हुने र तल्लो भेगमा पनि न्यून मात्रामा स्थानीयहरु बस्ने गरेको विगतलाई यसवर्ष कोरोनाले पुरै रोकिदिएको छ ।

कात्तिकदेखि बेंसी झरेर मुस्ताङीहरु फागुन, चैतमा पुनः मुस्ताङ फर्किन्थे । यसपटक कोरोना भाइरसको संक्रमणको जोखिमले स्थानीय आफ्नो थातथलो नछाड्ने मनस्थितिमा पुगेका छन् । विगतका वर्षहरुमा यो समयसम्म आइपुग्दा उपल्लो मुस्ताङमा १० प्रतिशतको हाराहारी मात्रै स्थानीय हुने गरेका थिए । तीमध्ये पनि वृद्धवृद्धा, भेडा गोठाला र घर कुरुवा मात्रै रहन्थे । लामो समयसम्म कोरोना संक्रमणको हिसाबले हेर्ने हो भने गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रीन जोन’मा रहेको थियो । तर पछिल्लो तथ्याङ्कअनुसार मुस्ताङमा पनि कोरोना भाइरसका संक्रमित बढेका छन् ।

पोखरा तथा काठमाण्डौमा घर हुनेहरुबाहेक अन्य स्थानीयबासी बेंसी नझरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो । मुस्ताङको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ भने अहिले जोमसोममा माइनस ६ र उपल्लो मुस्ताङमा माइनस १० डिग्री सेल्सियसमा तापक्रम झरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङमा गएको असोज अन्तिम हप्तादेखि नै चिसो बढ्न सुरु भएको थियो । यसैगरी उपल्लो मुस्ताङको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई घुम्ती विद्यालयमार्फत पोखरा लगेर पढाउने गरिएको भए पनि यसवर्ष कोरोना भाइरसकै कारण उनीहरु पोखरा जान सकेनन् ।

उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा र खच्चड धपाउँदै बालबच्चासहित हिउँदमा बेंसीका जिल्लाहरु म्याग्दी, पर्वत, कास्की, तनहुँ र चितवन हुँदै भारतसम्म पुग्ने गर्दथे । विभिन्न बस्तीमा पुगेर घुम्ती व्यापार गर्ने र भारतमा पुगेरै थोक व्यापारसम्म गर्ने मुस्ताङीहरु फागुन तथा चैत महिनापछि मात्रै तीनै गधा, घोडा र खच्चडमा खाद्यान्न बोकाएर घर फर्किन्थे । यसवर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमले बाहिर जान सक्ने अवस्था छैन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर