Aamsanchar

निर्माणाधिन हुलाकी सडकमा भारतीय एसएसबीको अवरोध, दशगजाको साढे ६ फिट जग्गा मिचिएको दाबी

Author Image
सोमवार, मंसिर २२, २०७७

नवलपरासी – नवलपरासीमा नेपालले निर्माण गर्दै गरेको हुलाकी सडकमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबरजस्ती काम बन्द गराएको छ । एसएसबीले रोकेपछि १० किलोमिटर लामो कठहवा–बेलाटारी सडकको कालोपत्रेको काम ठप्प भएको छ । २२ करोड रुपैयाँमा ठेक्का पाएको ठेकेदार कम्पनी कन्टेक प्राली काठमाण्डौले सडकको निर्माण कार्य भारतीय सीमाबाट सुरु गरेको थियो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा बनाउन थालिएको कल्भर्ट नै दशगजा क्षेत्रमा बन्न थालेको भन्दै एसएसबीले सोमबार दिउँसो काम रोकेको कम्पनीका प्रतिनिधि दीपक थापाले बताउनुभयो । मजदुर र ठेकेदार कम्पनीले काम बन्द गरेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले झिकाएको भारतीय अमिनले नापी गर्दा दशगजाको साढे ६ फिट जग्गा मिचिएको दाबी गरेको छ । निर्माणाधीन कल्भर्ट भत्काउन र नाप नक्सा गराएर नेपाली भूभागमा मात्र निर्माण कार्य गर्नुपर्ने एसएसबीको भनाइ छ । भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको झुलनीपुरमा रहेको एसएसबी को ११ औँ बीओपीका प्रमुख सई अमिताभ मिस्त्रीले सडक निर्माणको काम नो मेन्स ल्याण्ड एरियामा भइरहेको खबर पाएपछि नेपाल पक्षलाई सच्याउन आग्रह गरेको बताउनुभएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सडक निर्माण कार्य रोकिएको खबरपछि छलफलको पहल सुरु गरिएको र यसको छिट्टै समाधान खोजिने बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 596

प्रतिक्रिया (०)

सम्बन्धित खबर