Aamsanchar

नयाँ सोचका साथ उद्यमी बन्न चाहनेका लागि तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा

Author Image
बिहिवार, मंसिर २५, २०७७

काठमाण्डौ – नयाँ सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्द्धन प्रस्ताव आह्वान गरिएको छ । सरकार, वित्तीय संस्था र नीजि क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान गरेका हुन् ।

आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाले नवीनतम प्रवद्र्धन प्रस्ताव (स्टार्टअप आइडिया कल)को वेबसाइटwww.startupideacall.org  मार्फत प्रस्ताव पेश गर्न सक्नेछन् । उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत बढीमा तीन प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने जनाइएको छ ।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर अलमल भएका युवालाई सहजीकरण गर्नका लागि यो कार्यक्रम ल्याइएको हो । युवाहरुले माघ महिनासम्ममा आइडियासहितको आफ्नो प्रस्तावना पठाउन सक्ने र फागुन, चैत महिनामा तालिम दिएर सहुलियतपूर्ण कर्जा दिइने आयोजकले जनाएका छन् ।

नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो ुस्टार्टअप आइडिया कलु उपयोगी हुने विश्वास लिइएको छ । काठमाण्डौमा बुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताउनुभयो । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गर्नुभयो ।

नवप्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर