Aamsanchar

विराटनगरमा लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागि थप १०० शय्याको कोभिड अस्पताल सञ्चालनमा

Author Image
सोमवार, पौष ६, २०७७

विराटनगर – विराटनगरमा लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागि थप १०० शय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ। सरकारी र निजी क्षेत्रको साझेदारीमा निर्माण भएको १०० शय्याको कोभिड अस्पतालको सेवा सोमबारदेखि सुरु भएको हो।

सरकारले विराटनगर महानगरपालिका–१० स्थित कोभिड–१९ उपचार केन्द्रको पछाडि उत्तरपट्टीको खाली संरचनामा शय्या थप गरी कोभिड अस्पताल सञ्चालन गरेको हो। प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल नौ करोड बराबरको संयुक्त लगानी रहेको अस्पतालमा कोरोना उपचारका लागि आवश्य स्वास्थ्य उपकरणसहितको सेवा विस्तार गरिएको हो। नयाँ ब्लक थपेपछि त्यहाँ १०० शय्याभन्दा बढी सुविधा थपिएको छ।

पछिल्लो समय लक्षणसहितका संक्रमितहरु बढ्दै गइरहेकाले एकीकृत उपचारको आवश्यकतालाई महसुस गर्दै आइसियु, भेन्टिलेटर र अक्सिजनलगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नागरिक केयर सेन्टर कार्यकारिणी समितिका अध्यक्ष पवन सारडाले बताए। उनका अनुसार अस्पतालमा लक्षणसहितका संक्रमितहरुको उपचारका लागि ३५ वटा एचडियु बेड, ६५ वटा जनरल आइसियु बेड, चारवटा क्यानुला सिस्टम, ८० वटा पेसन्ट मोनिटर, ७५ वटा फाइभ फङसन इलेक्ट्रिक बेड, चारवटा इसिजी, ६ वटा पोर्टेबल भेन्टिलेटर र तीनवटा सक्सन मेसिनलगायतका आवश्यक स्वास्थ्य पूर्वाधारहरु जडान गरिएको छ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ का सचिव गोविन्दबहादुर कार्कीका अनुसार प्रदेश सरकारले तिहारसम्म अस्पताल सञ्चालनमा ल्याउने योजनाका साथ दशैंअघि कोभिड अस्पताल विस्तारको कार्य थालेको थियो। तर, केही प्राविधिक समस्या र बीचमा आइपरेका चाडपर्वका कारण अस्पताल ढिलो सञ्चालनमा आएको हो।

अस्पताल विस्तारका लागि निर्माण थालेको ४० दिनपछि अस्पताल सञ्चालनमा आएको हो। यसबाहेक हालको कोभिड अस्पतालपछाडि दक्षिणपट्टीको खाली संरचनामा स्वीस सरकारबाट प्राप्त चार करोड रुपैयाँको सहयोगमा थप १०० शय्याको कोभिड अस्पताल विस्तार गरिने प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए। त्यसका लागि आवश्यक तयारी भइरहेको उनले बताए।

प्रदेश १ मा हाल २९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। उनीहरुको सफल उपचार प्रदेश सरकारका लागि चुनौतीको विषय बन्दै गइरहेकाले निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल विस्तार गरिएको जनाइएको छ। हाल प्रदेश सरकारले सञ्चालन गरिरहको कोभिड अस्पतालमा २४ जना मेडिकल अफिसर र ८ जना पारामेडिक्ससहित ७४ जना स्वास्थ्यकर्मीहरु संक्रमितको उपचारमा सक्रिय छन्।

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल २०० शय्या क्षमताको भएको छ। आगामी दुई महिनाभित्र थप १०० शय्या विस्तार गरेर कुल ३०० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर