

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका छन् ।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको दाबी गरे ।
राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए । राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको उनको भनाइ छ ।

गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भनेर टिप्पणी गर्नेहरु प्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारका पदहरुमा नजाँदैमा पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी कमजोर नभएर ठूलो हुनुपर्ने बताए ।
पार्टीमा चलिरहेको विवादका बारे बोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफूलाई कमजोर सोचेर पार्टीका नेताकार्यकर्ताले अनुशासन विपरीत कार्य गरेकोले अनुशासनको कारबाही चलाउन सुरु गरेको बताए ।
राप्रपाले हालै सम्पन्न निर्वाचनको प्रदेश तहमा पुगेर समिक्षा गरिरहेको छ। सातवटै प्रदेशमा समिक्षा गर्ने क्रममा मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशमा समीक्षा बैठक सम्पन्न भएको छ ।
वैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवामा, वैशाख १५ गते बागमती प्रदेशको काठमाडौंमा र वैशाख १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा समीक्षा बैठक तय गरेको छ । कर्णाली प्रदेशको भने मिति तय हुन बाँकी छ ।



