काठमाण्डौ – नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको उहाँले बताउनुभयो । अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने पनि उहाँले बताउनुभयो ।
अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०र५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिनुभयो ।
लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।