Aamsanchar

इलाममा अप्टिकल फाइबर बिच्छ्याउने ठेक्कामा लापरबाही भएको भन्दै स्थानीय आन्दोलित

Author Image
बुधवार, पौष २२, २०७७

झापा- मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा सडकखण्डमा नेपाल दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइबर बिच्छ्याउन लगाएको ठेक्कामा व्यापक लापरबाहीसँगै ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन्। प्राधिकरणले प्रदेश १ का जिल्लामा टेलिकमको अप्टिकल फाइबर बिच्छ्याउने कामको ठेक्का कोरियन कम्पनी एलएस केबल सिस्टम प्रालिलाई दिएको छ। अप्टिकल फाइबरको गुणस्तरीय काम नेपाली व्यवसायीले गर्न नसक्ने भन्दै प्राधिकरणले सो ठेक्का विदेशी कोरियन कम्पनीलाई दिएको बताइएको छ।

तर, कोरियन कम्पनीले कमिसनको चक्करमा आफैँले काम नगरी पेटी ठेक्कामा फाइबर बिच्छ्याउन जिम्मा दिएकाले स्थानीय आक्रोशित बनेका छन्। पेटी ठेकेदारले सो काममा व्यापक लापरबाहीसँगै ढिलासुस्ती गरेपछि त्यसको विरोधमा स्थानीयले कुमार ढुङ्गेलको संयोजकत्वमा संर्घष समिति गठन गरेको छ। रोङ गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने जोरकशलदेखि कुट्टीडाँडासम्म अहिले धमाधम अप्टिकल फाइबर बिच्छ्याउने काम भइरहेको छ। तर, विरोधमा उत्रिएका स्थानीयले सोमबारदेखि काम बन्द गराएको संघर्ष समितिका संयोजक ढुङ्गेलले बताए।

संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय इलामलाई सो विषयमा ध्यानाकर्षण गराउँदै पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाइसकेको उनले बताए। उनका अनुसार सरोकारवालासँग सम्बन्धित निकायले तत्काल वार्तामा आउनुपर्ने, अस्तव्यस्त भएको सडक पहिला जस्तै बनाउनुपर्ने, आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय काम गर्नुपर्ने, भत्किएको सडक संरचना बनाउनुपर्ने र मेची राजमार्गको पक्की नाला, कालोपत्रे भत्काएर फाइबर बिच्छ्याउन दिएको अनुमति सम्झौतापत्र सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको बताए। तत्काल सम्बन्धित निकायले समस्याको समाधान नगरे पुस २६ गतेदेखि दैनिक एक घण्टा राजमार्ग बन्द गर्ने लगायतको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको उनले बताए।

राजमार्गमा गाउँपालिकाले लगाएको दुईवटा सडक बत्ती फुटाउँदा १५ दिन हिरासत र ८० हजार जरिवाना गराएर छोडेको घटना सुनाउँदै रोङ–३ का वडा अध्यक्ष मातृका बरालले भने, ‘अब विदेशी कम्पनीले सडकमा पुराएको क्षतिको सजाय के हुन्छरु सजाय नभए कडा प्रतिवादमा उत्रिने छौँ।’

गाउँपालिकाले पटक–पटक सम्बन्धित निकायलाई पत्राचार गर्दा पनि कुनै सुधार नभएको बताउँदै रोङ–४ का वडा अध्यक्ष सूर्य राईले भने, ‘निर्माण व्यवसायको अनियमितता र लापरबाहीप्रति जनताको आन्दोलनलाई समर्थन गरेको हुँ।’

सार्वजनिक सडक ऐन २०३१ को दफा १८ र १९ मा व्यवस्था भएको कानुनको समेत धज्जी उडाउँदै राजमार्गमा जथाभाबी नाली र कालोपत्रे भत्काइ सडक अवरुद्ध गर्ने कार्य गलत भएको रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताए। सडकमै निर्माण सामाग्री थुपार्ने, सुस्त गतिमा थोरै जनशक्ति प्रयोग गरी जथाभाबी काम गर्दा पनि सम्बन्धित निकाय मुखदर्शक भएको देख्दा आश्चर्य लागेको उनले बताए।

गाउँपालिकाको भूमिमा फाइबर बिच्छ्याउने काम गरिँदा पनि सम्बन्धित पक्षले कुनै समन्वय र सहकार्य गाउँपालिकासँग नगरेको गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर