Aamsanchar

स्कुल बसको ठक्करबाट मोरङमा शिक्षिकाको मृत्यु

Author Image
शनिवार, पौष २५, २०७७

विराटनगर – स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षिकाको मृत्यु भएको विरोधमा प्रदर्शन हुँदा मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी शुक्रबार राति पाँच घण्टासम्म तनावग्रस्त बनेको छ। प्रहरीका अनुसार कानेपोखरी–रंगेली सडकखण्डमा कानेपोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले को ८ प ७३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार मोरङको रंगेली नगरपालिका–९ बेलचोककी ४० वर्षीया दीपा भट्टराई (नेपाल)को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए।

दीपा रंगेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं सहायक प्रिन्सीपल हुन्। उनका श्रीमान विद्या नेपाल, ६ वर्षीय छोरा र १४ वर्षीया छोरी छन्। साना किसान सहकारी संस्था दर्वेसाकी अध्यक्षसमेत रहेकी उनी सहकारीकै कार्यक्रममा बेलबारी पुगेर घर फर्कदै गर्दा दुर्घटनामा परेको देवर सन्तोषप्रसाद नेपालले बताए। 

मृतक महिला नातामा भाई पर्ने विकल भट्टराईले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन्। दिउँसो ४:३० बजेतिर भएको दुर्घटनामा परेर विकल पनि घाइते भएका छन्। मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ गइरहेको थियो। बस पनि सोही दिशातर्फ जाँदै थियो।

विद्यार्थीलाई घर पुर्‍याउन गएको बस पछाडि सार्ने (ब्याक गर्ने) क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गिरीको भनाइ छ। ‘विद्यार्थी पुर्‍याउन गएको बस बाटो कटेर एक जना विद्यार्थीको घरभन्दा लगभग ३० मिटरजति अगाडि बढिसकेको रहेछ। त्यसपछि घरै अगाडि विद्यार्थीलाई ओराल्न चालकले बस ब्याक गरेछन्,’ उनले भने, ‘त्यही क्रममा बसले पछाडि रोकिएर रहेको मोटरसाइकललाई ठक्कर दिएछ। हत्या गर्ने नियतले बसलाई ब्याक गरेर घटना गराइएको आरोप आफन्तको छ।’

सामाजिक अभियन्तसमेत रहेकी शिक्षिकको मृत्युपछि चालकको गम्भीर लापरबाहीले घटना भएकोभन्दै आक्रोसित बनेका स्थानीय बासिन्दाले लगातार पाँच घण्टासम्म नाराबाजी र प्रदर्शन गरेका थिए। हत्या गर्ने उद्देश्यले बस ब्याक गरेर घटना गराइएको भन्दै उनीहरुले राति १० बजेसम्म सडकमै शव राखेर प्रदर्शन गर्दा अवस्था तनावग्रस्त बन्यो।

आक्रोसित भीड ढुंगामुडा गर्दै तोडफोडमा उत्रन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो। बोर्डिङ स्कुलमासमेत तोडफोडको प्रयास गरिएको थियो। आगो बालेर सडक अवरुद्ध बनाउँदै घटनास्थलमा भेला भएकाले जनप्रतिनिधिकाविरुद्ध पनि नाराबाजी गरेका थिए।

बस र चालकलाई घटनास्थलमै ल्याउनुपर्ने माग राख्दै प्रदर्शन हुँदा अवस्था तनावपूर्ण बनेको कानेपोखरी–५ का वडा अध्यक्ष चरण गुरुङको भनाइ छ। उनका अनुसार चालकलाई कारबाही नभएसम्म शव उठाउन नदिने अडान राख्दै आन्दोलन हुन थालेपछि पीडित पक्षसँग सहमति गरेर शव उठाइएको हो। दोषी चालकलाई कानुनअनुसार कारबाही गर्ने र पीडित पक्षलाई न्याय दिने सहमतिपछि राति १० बजेतिर प्रहरीले घटनास्थलबाट शव उठाउन पाएका जानकारी गुरुङले दिए। उनका अनुसार सुरुमा शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको थियो।

त्यसपछि प्रहरीले रंगेली अस्पताल लगेको छ। डीएसपी गिरीले सुरक्षाको दृष्टिकोणले शव मंगलबारेमा राख्न सम्भव नभएकाले सुरक्षा व्यवस्थासहित पोस्टमार्टमका लागि रंगेली लगिएको जानकारी दिए। उनका अनुसार घटनापछि परिवारका सदस्य र आफन्त सहमतिमा आएपनि आक्रोसित भीडले भने माहोल उत्तेजित बनाउँदै शव उठाउन दिइरहेको थिएन।

शव उठाउन अवरोध गरिएपछि सामान्य बल प्रयोग गर्नु परेको गिरीले बताए। ‘मृतकको शव पोस्टमार्टमका लागि लैजानलाई सामान्य बल प्रयोग गर्नुपरेको थियो,’ उनले भने, ,‘घटनास्थलमा ढुंगामुडा र हुलहुज्जतसहित प्रदर्शन गरियो।’ डीएसपी गिरीका अनुसार घटनास्थलको अवस्था थप खराब बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन रंगेली, उर्लाबारी, बेलबारी, पथरी लगायतका स्थानबाट ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको थियो।

त्यसक्रममा आक्रोसित भीडबाट प्रहार भएको ढुंगाले लागेर इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का सामान्य घाइते भएका छन्। उनको दायाँ कानको छेउमा ढुंगाले लागेको चोट छ। आक्रोसित समूहले रंगेली प्रहरीको बा १ झ ७३६३ नम्बरको गाडी र शव उठाउन घटनास्थलमा ल्याइएको मे १ च २३०८ नम्बरको पिकअप भेनमा तोडफोड पनि गरेका छन्। ढुंगामुडा र तोडफोडबाट प्रहरीको गाडीको अगाडिको सिसा फुटेको छ। पिकअप भेनमा भने पूर्ण रुपमा क्षति पुगेको डीएसपी गिरीले बताए।

घटनापछि बसका चालक राजु श्रेष्ठ फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। सुरुमा दुर्घटनामा परेका बेला बस चलाएको हुनसक्ने आशंकामा प्रहरीले बोर्डिङकै अर्को बसका चालक सुजन राईलाई नियन्त्रणमा लिएको थियो। तर पछि बस फरार रहेका श्रेष्ठले चलाएको खुलेको प्रहरीको भनाइ छ। बसलाई नियन्त्रणमा लिएर भागेका चालकको खोजी गर्दै घटनाको अनुसन्धान गम्भीर रुपमा अघि बढाइएको डीएसपी गिरीको भनाइ छ।

घटनामा घाइते भएका मोटरसाइकल चालक भट्टराईले भने तीव्र गतिमा रहेको बस सुरुमा मोटरसाइकललाई ओभरटेक गरेर अगाडि बढेको बताए। ‘अलि तल पुगेपछि बस रोकियो। हामीलाई अगाडि जाने बाटो नभएपछि मैले पनि मोटरसाइकल रोकें,’ उनले भने, ‘तर एक्कासि बस ब्याक सारेर ल्याइयो। हामीलाई सोहोरेर लगिहालो।’ अलिकति पर पुर्याएपछि बसको चक्काको बीचबाट आफू निस्कन पाएकाले मात्रै बाँच्न सकेको भट्टराईले सुनाए।

उनले टाउकामा लगाएको हेल्मेट निकालेर पछाडि हानेपछि मात्रै विद्यार्थी बोकेको गाडी रोकिएको पनि सुनाए। मोटरसाइकलमा बसेकी दिदीलाई भने बसको पछाडिको चक्काले भेटेको भट्टराईले सुनाए। ‘दिदीको बीभत्स अवस्था देखेपछि मेरो पनि होस उड्यो। पछि आफूले थाहा पाउँदा अस्पतालमा थिएँ,’ उनले भने, ‘घटनामा बस चालकको ठूलो लापरबाही छ। तीव्र गतिमा बस कुदाउँदा र अघिपछि नहेरिकन ब्याक गर्दा यस्तो दुर्दशा भयो।’ ठक्करबाट मोटरसाइकल ढलिसकेपछि पनि बस ब्याक गरेर किचेको उनको भनाइ छ।

मृतक दीपाका देवर सन्तोषले दुर्घटनामा बस चालकको गम्भीर लापरबाही रहेको बताए। ‘घटनाको प्रकृति हेर्दा सुरुमा ठक्कर दिएपछि बस ब्याक गरेर किचेको देखिन्छ,’ उनले भने, ‘भाउजूको छात्तीमा बसको चक्काको डाम रहेकाले पनि यो कुरो पुष्टि हुन्छ।’
घटनास्थलको अवस्था हेर्दा चक्का घिसारेर ब्याक गर्दै मार्ने नियतले बसले हानेको देखिने सन्तोषको भनाइ छ। उनले घटना गराउनेलाई कानुनअनुसार कारबाहीमा कुनै कन्जुस्याइँ गर्न नहुने माग पनि गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर