Aamsanchar

विराटनगर विमानस्थल विस्तार : क्षतिपूर्ति र मुआब्जाको माग गर्दै संघर्ष समिति गठन

Author Image
मङ्गलवार, पौष २८, २०७७

विराटनगर-विराटनगर विमानस्थल विस्तारका लागि अधिग्रहण गरिने क्षेत्रका बासिन्दाले उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन्। विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ बिघा जग्गा अधिग्रहण गरिने क्षेत्रका स्थानीयले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्न सोमबार वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थल पीडित संघर्ष समिति गठन गरेका हुन्।

विमानस्थल विस्तार गर्नै हालै बाउण्ड्री सर्भे सम्पन्न भएको छ। विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थलको चारैतिर विमानस्थल विस्तार गर्दा करिब ३०० घर परिवार विस्थापित हुने संघर्ष समितिका संयोजक पौडेलले बताए। वर्षौंदेखि विमानस्थलको वरिपरि बसोबास गर्दै आएका सर्वसाधरण घरबारविहीन बन्नुपर्ने बाध्यता नहोस् भनी उचित क्षतिपूर्तिको माग गरिएको पौडेल बताउँछन्।

उनले भने, ‘विमानस्थल वरिपरि बसोबास गर्ने कुनै पनि घरपरिवार घरबारविहीन हुनुपूर्व नै राज्यले उचित क्षतिपूर्ति दिएर उनीहरु अहिले जसरी बसोबास गरेका छन्, त्यसरी नै अन्य स्थानमा जमिन किनेर घर बनाएर बस्न सकून् भन्ने उद्देश्यले क्षतिपूर्तिको पहलका लागि हामीले संघर्ष समिति गठन गरेका हौं।’

विमानस्थल क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरकै बन्नुपर्छ भन्ने आफूहरुको पहल रहेको र विमानस्थल विस्तारमा कुनै अवरोध नगर्ने पनि संयोजक पौडलले बताए। संघर्ष समितिले राज्यबाट पाउने क्षतिपूर्ति न्यायसंगत र व्याबहारिक हुनुपर्ने विषयमा पहल गर्ने उनको भनाइ छ।

संयोजक पौडेलले मुआब्जा दिएर घर जमिन खालीगर्नु पर्ने मिति स्पष्ट गर्नुपर्ने, क्षतिपूर्तिका आधारहरु स्पष्ट पार्नुपर्ने, आधा घर र आधा जमिन मात्रै परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्ने लगायतका विषयमा पहल गरिने बताए। राज्यले दिने क्षतिपूर्तिले अहिले बसिरहेको थातथलोभन्दा पनि सुगममा जमिन किनेर घर बनाउने सक्ने हैसियत हुने गरी ब्यवस्था गरिनुपर्ने मागसमेत छ।

नेपालको दुई जिल्ला छुने विमानस्थल बन्ने

अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्ने लक्ष्य रहेको विमानस्थलको चारैतर्फको १२६ दशमलब ४६ बिघा जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको छ। विमानस्थल क्षेत्रीय स्तरको हुँदा मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४ र सुनसरीको बर्जु गाउँपालिकासम्म विस्तार हुने छ। क्षेत्रीय स्तरको निर्माण सम्पन्न हँुदा नेपालको दुई जिल्ला छुने यो एक मात्र विमानस्थल बन्ने छ।

यसअघि कात्तिक २७ मा विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो। विस्तार हुँदा विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार ५०० मिटर लामो हुने छ। हालको धावनमार्ग एक हजार ५०० मिटरको छ। साबिक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर