Aamsanchar

कोरोनाविरुद्धको खोप भित्र्याउन चाहनेले दर्ता प्रक्रियामा सहभागी हुन आह्‍वान

Author Image
बिहिवार, माघ १, २०७७

काठमाडौं –औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको खोप भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरूलाई प्रक्रियामा सहभागी हुन आह्‍वान गरेको छ। विभागले आज एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो। सूचनामा विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनशाय राखेका उत्पादक वा सो का आधिकारिक आयातकर्ताहरूले सम्बन्धित उत्पादकको तर्फबाट आवश्यक कागजातसहित विवरण खुलाई खोपको आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि निवेदन दिन सक्ने उल्लेख छ।

विभागले आयात गर्नका लागि औषधि ऐन २०३५ तेस्रो संशोधन सहितको दफा ९ क को कार्यान्वयनको लागि तथा कोरोना भाइरस महामारीको रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरू वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपतकालिन प्रयोग गर्न सकिने सूचनामा भनिएको छ।

यस्तै, विभागले कोरोना भाइरस विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ र कोभिड १९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोगसम्बन्धी अवधारणापत्रलाई आधार मानिनेसमेत स्पष्ट पारेको छ।

भारतमा ३ माघबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। त्यहाँका दुईवटा कम्पनीले खोप उत्पादन गरी आपतकालीन प्रयोगका लागि अनुमतिसमेत पाइसकेका छन्। नेपालले भारतबाटै खोप ल्याउनलाई प्राथमिकतामा राखेको बताइँदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)