Aamsanchar

दशगजा अतिक्रमण : प्रदेश १को प्रमुख नाका बिराटनगर रानीमा घर टहरासँगै मन्दिर र मस्जित समेत बनाएको पाइयो

Author Image
बिहिवार, माघ १, २०७७

विराटनगर-प्रदेश १को प्रमुख नाका बिराटनगर रानीमा दशगंजा क्षेत्र अतिक्रमण तीव्ररुपमा भएको छ ।दशगजामा नेपाल र भारतका बासिन्दाले अतिक्रमण गरेर घर टहरासँगै मन्दिर र मस्जित समेत बनाएको पाइएको हो । नेपाल भारत सीमा अतिक्रमण दशकौंदेखिको समस्या भए पनि दुबै मुलुकका सरकारले चासो नदिँदा सीमा अतिक्रमणसँग अन्य सुरक्षा चुनौती थपीएको पाइएको हो । सशस्त्र प्रहरीले तयार पारेको प्रतिवेदन अनुसार विराटनगर महानगरपालिकाको वडा नं. १७ को दक्षिणतर्फ मात्रै सीमा अतिक्रमणका दर्जनौं समस्या छन् ।
विराटनगर–१७ मा पर्ने मटेर्वामा मात्रै दशगजा भित्र नेपालीले बनाएका ६४ वटा घर टहराहरू छन् । त्यसैगरी भारतीयहरूले ४० वटा घर टहरा बनाएर वर्षौंदेखि बस्दै आएका छन् ।

दशगजाभित्र मानिसको बसोबास र मन्दिर मात्र नभै सैलुन, होटल र हार्डवेयर पसलसमेत खुलेका छन् । समयमै समस्या समाधान गर्नेतर्फ ध्यान नदिंदा समस्या झन् बढ्दै गएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार भन्सारको मूल गेटमै अतिक्रमण गरेर संरचनाहरु निर्माण गरिएको छ । विराटनगर–१७ मा दशगजाभित्रै राम मन्दिर बनाइएको छ भने विराटनगर–१५ मा दशगजाभित्रै पारेर दुर्गा मन्दिर बनाइएको छ ।

दुर्गा मन्दिर विराटनगर भन्सार र जोगबनी (भारत) को मूल प्रवेशद्वारमै बनाइएको छ । त्यसैगरी भारततर्फबाट बनाइएको गेटको पश्चिम उत्तरको एउटा पिल्लर नेपालतर्फको जमिनबाट उठाइएको छ । जोगबनीस्थित भारतको ल्याण्ड कस्टम अफिसको चेक पोष्ट र प्रहरी बीट पनि भारतले दशगजामै बनाएको छ । सो ठाउँमा दशकौंदेखि बस्दै आएर भारतीय कस्टम चेक पोष्ट हटाउन अहिलेसम्म कुनै पहल गरिएको छैन ।

दशगजाभित्र बनाइएका भौतिक संरचनाहरूमा विराटनगर–१५ मा पर्ने दुर्गा मन्दिरबाहेक नेपालतर्फका सबै संरचनाहरू विराटनगर–१७ मा पर्दछन् । त्यसैगरी भारततर्फ भने जोगबनी नगरपालिकाको वडा नं. १२ र १७ मा पर्दछन् । दुबै पक्षले चासो नदिंदा सीमा अतिक्रमणको समस्या दशकौंदेखि थाती रहेको हो ।

दशगजाभित्रै मानिस बसोबास गर्नाले सीमा नाकाबाट लागुऔषध र अन्य वस्तुको तस्करी गर्न सहज हुँदै आएको छ । सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमान्डको सो बोर्डर आउट पोष्टले तस्करी नियन्त्रणमा सक्रियता देखाएको हो ।

सशस्त्र प्रहरीको सो पोष्टले गत कात्तिक २१ गते ३० लाख मूल्य बराबरका सुनका गहना जफत गरेको थियो । त्यसैगरी गत असोजमा १ लाख ३२ हजार ५ सय भारतीय रूपैयाँ जफत गरेको थियो भने पुस २५ गते ३ लाख ९८ हजार भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको थियो । विराटनगर–१५ का रञ्जीत चौधरी र मोरङकै सुन्दरहरैंचा–१ की अञ्जली झालाई अवैध भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल विराटनगर जुट मिलस्थित आउट पोष्टले ६ महिनाको अवधीमा अवैध भारू, सुनका गरगहना र अन्य सामग्रीहरू गरी ७५ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । नेपाल–भारतको सिमाना खुल्ला भएका कारण अपराधीहरूले त्यसको नाजायज फाइदा लिँदै आएका छन् । त्यसैगरी सीमा अतिक्रमण पनि बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर