Aamsanchar

कर्णालीवासीले मनाए आज कतै नमनाइने छोरा तिहार

Author Image
शुक्रवार, माघ २, २०७७

डोल्पा : भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार मनाएका छन्। नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वित्तीयका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणहरूले धुमधामका साथ मनाउने गर्दछन्।  आज बिहानै नुहाई धुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ।

भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी,फिनीरोटी,चिनिरोटी जस्ता परिकारहरू सहित छोरालाई टीका लगाउने प्रचलन छ। टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आर्शिबाद दिने गरिन्छ।

छोराले पनि आमालाई दक्षिणाको रूपमा आफूले सक्दो पैसा,धोती चोली लगायतका कोशेली दिएर टीका थाप्ने गरिन्छ। आमाको हातको टीका थाप्नको लागि जिल्ला बाहिर पुगेका छोराहरू पनि आजको दिन घर पुग्ने गर्दछन्। 

काम विशेषले घर पुग्न नसक्ने छोराहरूले टेलिफोनबाटै भए पनि आशिर्वाद लिने र आमाले पनि छोराकालागि बनाएको कोशेली छुट्यायर राखिदिने गरिन्छ।
त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीय रमानन्द उपाध्यायका अनुसार छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सबै पुरुषहरू जम्मा भई प्रत्येक घर–घर तथा गाँउ बस्तीहरूमा पुगेर भाई टीकामा देउसी भने जस्तै भैलो खेल्ने प्रचलन छ।

‘यसरी भैलो खेलेर उठेको रकमबाट धारा,पधेँरा,बाटो लगायतका सार्वजनिक सम्पदा मर्मत सम्भार गरिन्छ,’उनले भने,‘बचेको रकमबाट वनभोज जाने कार्यक्रम हुन्छ। आजको दिनमा महिलाहरू पनि सार्वजनिकस्थलहरूमा भेला भएर चुट्किला देउडा खेलेर रमाईलो गर्ने र एक अर्काको पीर व्‍यथा साटासाट गर्ने  गरिन्छ। यो छोरा तिहार कतै पनि मनाइँदैन, यहाँ मात्रै हो।’

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने उनले बताए। उनले भने,‘यो भैलो तिहारको देउसीभन्दा फरक ढंगबाट र फरक लयमा खेलिने  गर्दछ। भैलो खेलेर मागेको चामल,धान,पैसा सबै भैलो खेल्न गएकाहरू सबै जना मिलेर पाठी भात (स्थानीय भाषामा) वन भोज खाने प्रचलन छ।’

उनका अनुसार छोरा तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरहरूमा गएर पूजारीको हातबाट टीका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन्।

छोरो तिहारमा खेलीने भैलोको केही अंश 
आउँशिया बार,भैलो
दरमुद बार,भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली,भैलो 
बाँस भित्र,भैलो
आर्या न तार्या,भैलो
पिपलु पाती,भैलो
रायकी छाती,भैलो
बाखरी खानु,भैलो
त्यो बाखरी कसो सुवाला,भैलो
कसो सुवाला,भैलो
भैलो दिने घरीनाको एककान सुन छ,भैलो 
एक कान मोती,भैलो 
सुर्यकी ज्वती,भैलो
भेडो दिन्नन् डोर्‍याइए ल्याउला भैलो,घोडो दिन्नन चढि ल्याउला,त्यहीँ पर जाउँला पिरती लगाउँला भैलो
पिरतीका बार,भैलो
आकाश जरा,भैलौ,
पात्तला शिला,भैलो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर