Aamsanchar

सुत्केरीलाई चिसोबाट जोगाउन डाक्टरहरूद्वारा हिटर सहयोग

Author Image
बुधवार, माघ ७, २०७७

डोल्पा – हिमाली जिल्ला डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन स्थानीय ३ जना डाक्टरहरूले ग्यास हिटर किनिदिएका छन्‌। ​जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउन आएका र आउने आमाबच्चा तथा बिरामीहरूलाई चिसोबाट जोगाउन स्थानीय डाक्टरहरूले ग्यास हिटर जोहो गरिदिएका हुन्‌।

हिउँदको अत्याधिक चिसोका कारण सुत्केरी आमा बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै ललितपुरस्थित पाटन अस्पतालमा कार्यरत डाक्टर अखण्ड उपाध्याय, जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमाल र डाक्टर मछिन्द्र बडुवालले ५ वटा ग्यास हिटर र १० वटा सिलिन्डर सहयोग गरेका हुन्‌। उनीहरूले हिटर किन्न सहयोग अभियान नै चलाएका थिए।

अभियानलाई सफल बनाउन देशरविदेशमा रहेका विभिन्न संघ संस्था र २९ जना व्यक्तिबाट ९० हजार रुपैयाँ रकम उठाएर ग्यास हिटर र सिलिन्डर खरिद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो।

दुनैमा विस्तारित विद्युतको भोल्टेज न्युन भएकाले गर्भवती महिला सुत्केरी हुनअघि र भइसकेपछि चिसोले सास्ती खेप्नु परेको चिकित्सकहरूले बताएका छन्। हिउँदको कठ्याङ्ग्रिदो चिसोका कारण सुत्केरी भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुने भएकाले स्थानीय डाक्टरहरूले अभियान नै चलाएर हिटरको जोहो गरिएको डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए। सुत्केरी आमा, बच्चा तथा अन्य बिरामीहरूको कष्टकर अवस्थाले डाक्टरहरूको मन खाएपछि हिटर किन्न अभियान चलाएकाले उनको भनाई छ।

यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब अस्पतालमा आउने सुत्केरी तथा बिरामीलाई निकै ठूलो राहत मिल्ने बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर