Aamsanchar

अदालतको अवहेलनामा प्रधानमन्त्रीलाई कारबाही हुनुपर्ने बार एशोसिएसनका चार पूर्वअध्यक्षको माग

Author Image
आइतवार, माघ ११, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायीका ज्येष्ठ सदस्य कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएसनका चार पूर्वअध्यक्षले ओलीको भर्त्सना गरेका छन्। पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति जारी प्रधानमन्त्री ओलीको यस भनाइप्रति भर्त्सना गर्दै उनलाई अदालतको अवहेलनामा कारबाहीसमेत हुनुपर्ने बताएका छन्।

‘वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन, स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतको जीवित इतिहास हुन्। पञ्चायतकालमा बिपी कोइराला, रामराजाप्रसाद सिंह र प्रधानमन्त्रीलाई झापा आन्दोलनको कममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्टसाध्य यात्रा गर्ने साहसिक कानुन व्यवसायी पनि हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रधानमन्त्रीको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर छ।’

केही दिनअघि प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो?’ भन्दै व्यंग्य गरेका थिए। ‘प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका १३ रिटमाथि अहिले संवैधानिक इजलासमा बहस जारी छ। ती निवेदनमा पक्षका कानुन व्यवसायीले संविधानले नदिएको अधिकार प्रयोग गरी विघटन गरेको दाबी पेश गरिरहेका छन्। झण्डै तीन सय अधिवक्ताहरूले बहसका लागि निवेदन दिएका छन्। त्यसैगरी, सर्वोच्च बार र नेपाल बार एशोसियसनबाट मगाइएका पाँच जना एमिकस क्युरी र महान्यायाधिवक्ता अग्नि खरेलले पनि बहस गर्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर