Aamsanchar

संखुवासभाको उच्च हिमाली क्षेत्रहरुमा बाक्लो हिमपात (फाेटाे )

Author Image
सोमवार, माघ २६, २०७७

संखुवासभा – संखुवासभाको उच्च हिमाली क्षेत्रहरुमा बाक्लो हिमपातसँगै जनजीवन प्रभावित भएको हो । संखुवासभाको उत्तरी क्षेत्र चीनको सिमावर्ती किमाथाङ्का गाउँमा भारी हिमपात भएको हाे ।

सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किमि टाढा रहेको किमाथाङ्का गाउँमा गएको मंसिर अन्तिम हप्तादेखि सामान्य हिमपात हुन सुरु भए पनि शनिवारदेखि भारी हिमपात सुरु भएको हो ।

केहिदिन अगाडिसम्म माथि-माथिका डाँडाहरूमा सामान्य हिउँ परे पनि अहिले तल गाउँसम्म नै भारी हिमपात भएको किमाथाङ्का प्रहरी चौकीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।

उहाँले बर्सेनि किमाथाङ्का गाउँ र गाउँमाथिको छेसुम्बा गुम्बालगायतका डाँडाहरु करिब ६ महिनासम्म हिउँ झर्ने गरे पनि अहिले तलतल गाउँसम्म नै बाक्लो हिमपात भएको बताउनुभयो । ‘अहिले किमाथाङ्का प्रहरी चौकी र तल गाउँसम्म करिब ३ फिटभन्दा बढी हिउँ जमेको छ । घर बाहिर आवतजावत गर्न नै मुस्किल छ ’ प्रहरी निरीक्षक राईले भन्नुभयो ।

पटक/पटकका हिमपातका कारण लेकाली भेगमा बस्नेहरुकाे जनजीवन नै कष्टकर बनेको भोटखोला गाउँपालिका-१ किमाथाङ्काका वडाअध्यक्ष तेन्छेबी भोटेले बताउनुभयो । उहाँले हिमपातका कारण घरबाहिर निस्कन मुस्किल भइरहेको बताउनुभयो ।

‘चिसो र हिमपातका कारण घरभित्र नै आगो ताप्दै बस्नुबाहेक केही काम छैन् । चिसो र हिमपातले वयस्क जवानहरुभन्दा पनि बालबालिका र वृद्धवृद्धाहरुलाई निकै समस्या परेको छ ’वडाध्यक्ष भोटेले भन्नुभयो।

संखुवासभाका अन्य ठाउँहरुमा समेत बाक्लो हिमपात भएको छ । सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा समेत चिसो ह्वात्तै बढेको छ । त्यसैगरी हटिया, चेपुवा, हुङहुङ र मकालु गाउँपालिकाको मांसिमा, सेदुवालगायतका ठाउँहरुमा सामान्य हिमपात र तुषारोका साथै चिसो ह्वात्तै बढेको स्थानीयहरुले बताएका छन् ।

त्यसैगरी संखुवासभाको दक्षिणी भेगमा रहेकाे टुटेदेउराली, गुफापोखरी, चौकी, मंगलबारेलगायतका तिनजुरे–मिल्के–जलजले (टिमएमजे) क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । त्यसका साथै सिलिचोङ गाउँपालिकाको सिसुवाटार, मानेटारलगायतका अग्लो भूभागमा समेत चिसो ह्वात्तै बढेको जनाएको छ ।

 

कोरोना भाइरसका कारण चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका चीन सरकारले पूर्णरुपमा नाका बन्द गरेको छ । गएको माघ ५ गतेदेखि बन्द भएको नाका अहिलेसम्म खुलाएको छैन् । किमाथाङ्का नाका बन्द गरेको कारणले आवतजावत ठप्प छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर