Aamsanchar

‘श्री स्वस्थानी व्रत कथा’ समाप्ति

Author Image
शनिवार, फागुन १५, २०७७

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस्, हाम्रो शुभकामना !

यस वर्ष पनि स्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको वलिदान देखी गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतीको घमण्ड, दम्भ लगायत पृथ्वीको श्रृष्टी आदि धेरै कुराहरुले ज्ञान अनि प्रेरणा दिएको हुनुपर्छ भन्ने आशा छ । तपाई-हाम्रो आफ्नो प्रिय मोबाईल सहयात्री हाम्रो पात्रो, जसलाई नेपालीपनको पर्यायवाचीकरुपमा हजुरहरूले आफ्नो मोबाईल र हृदयमा ठाउँ दिनुभएको छ, यसमार्फत् यहाँहरूले श्रवण गर्नुहोस् भन्ने उद्धेश्यले नै स्वस्थानी परमेश्वरीको महीमाका कथाहरु हामीले विशेष अडियो सामाग्रीको रूपमा दैनिक अध्यायहरू हामीले प्रस्तुत गर्याैं । हाम्रो पात्रोको यस पारम्परीक, धार्मीक तथा सांस्कृतिक पहलमा यहाँहरुले देखाउनुभएको माया अनि सद्भाव प्रति हामी कृतज्ञ छौं, हाम्रा अादरणीय प्रयोगकर्ता, श्रोताहरूलार्इ धेरै धन्यावद । स्वस्थानी व्रतकथाको समाप्ति भएपनि अर्को अध्यात्मिक तथा तार्किक चिन्तन सहितको महान ग्रन्थ गीताको अाधूनीक व्याख्या “विश्वगीता” हामीले प्रत्येक मङ्गलबार नियमित श्रृंखला अन्तर्गत प्रस्तुत गरी नै रहेका छाैं ।

गएका पुस्ताले आउने पुस्ताकालागि छाडेर जाने मुख्य कुराहरुमा सस्कार अनि परम्परा पनि अत्यन्त महत्वपूर्ण कुरो हो । नेपालीजनमा यस्ता सस्कार अनि परम्पराको ठूलो मुल्य अनि महत्व छ यस्तै एउटा सदियौं पुरानो संस्कार हो, श्री स्वस्थानी माताको व्रत कथाको अडियो सामाग्री प्रतिको प्रयास । विभिन्न दस्तावेज अनि लेखहरुमा स्वस्थानी व्रतकथालाई महिलाहरुले मात्र गर्ने कठिन व्रतकारुपमा चित्रण गरिएतापनि यो विशेष अास्था र देवादीदेवसंग जुटेको स्वस्थानीको व्रत अनि महीमा पुरुषहरुले पनि गर्ने गरेको पाईन्छ । यस अर्थमा स्वस्थानी परमेश्वरीको व्रत अनि आराधना महिला पुरुष दुवैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वाश र जनउक्ति छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्धी अनि अध्यात्मिक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । वैदिक सनातन हिन्दूजनको अपरिहार्य यो व्रतकथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ पूजा अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पुरागर्ने यी देवी स्वस्थानीको चारवटा हात छन् र ति हातहरु चक्र, त्रिशुल, तलवार अनि कमलको फूलले सुशोभित छन् ।

यस विशेष एक महिनाको महत्वपूर्ण पाटो भनेको, परिवारका सम्पूर्ण सदस्य भेला भई गरिने कथावाचन अनि श्रवणका कारणले परिवारमा पनि सद्भाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक सम्बन्धलार्इ मजबुत पार्दछ । फेरि समापनका अवसरमा सामूदायीक भेला रहने भएकाले सामाजिक सद्भाव अनि एकतामा पनि यसले महत्वपूर्ण भूमिका निभाएको छ ।

अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।

अहिलेको आधूनिक यूगमा र यस यूगले गर्नेखालका तर्कमा आधारीत रहेर पुराना संस्कारहरुलाई बिर्सेर कुल्चदै अगाडि बढ्ने ति हरेक पाईलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत् पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिएको छ । स्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।

हिँउदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरु एकैठाउँमा भेलाभई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । ‘उपनयतु सकल जगनमङ्गलाय’बाट शुरु हुने यो कथा ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रका साथै समापन हुन्छ ।

यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनाै साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि अाएको छ । सबै उमेर समूहको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाईदा हुने जनविश्वास छ ।

परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेषमान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत्, गुहेश्वरी अनी शालिनदी लगायत विभिन्न क्षेत्रहरुको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरु नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरुको कल्याण होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१