Aamsanchar

मोरङका प्रवीण बास्तोला मृत्यु प्रकरण : मुख्य अभियुक्त दमकका रणपहेलीलाई थुनामा राख्न आदेश

Author Image
बुधवार, फागुन २६, २०७७

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा मुख्य अभियुक्त बनाइएका राजेश रणपेहलीलाई पनि पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।

न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय रणपहेलीलाई थुनामा राख्न मंगलबार आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए। भागेर रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ फूलबारी चोकमा पुगेका अभियुक्त (प्रतिवादी) रणपहेलीलाई गत बिहीबार पक्राउ गरेर मोरङ ल्याउँदै प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आइतबार अदालतमा पेस गरेको थियो।

सूचना अधिकारी धमलाका अनुसार रणपहेलीविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दामा कानुन व्यवसायीको थुनछेक बहस सकिएपछि थुनामा राख्न अदालतले आदेश दिएको हो। अदालतको आदेश अनुसार यस प्रकरणमा अन्य दुई जना यसअघि नै पूर्पक्षका लागि थुनामा पुगिसकेका छन्। ‘तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादी निर्दोष हुन् भन्न सकिने आधार नभएकाले पछि ठहरे बमोजिम हुने गरी तत्काललाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको बाँकी अनुसन्धान अघि बढाउनू’ अदालतको आदेशमा भनिएको छ।

आफ्ना साथीहरु भाडामा बस्ने गरेको उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सुत्न गएका बास्तोलाको शंकास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो। परिवारका सदस्य र आफन्तले शव गोदावरी अस्पतालमा पाएका थिए। सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पुर्‍याएपछि बास्तोलाको मृत्यु भएको दाबी घटनाका आरोपीहरुले गर्दै आएका थिए। तर हत्या भएको दाबीसहित छ जनाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो।

मुद्दामा रणपहेलीसहित झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ।
प्रहरीका अनुसार प्रतिवादीमध्ये दर्जी, परियार र पौडेल गिरीको घरमा कोठा भाडामा लिएर डेरा बस्थे। बास्तोलालाई लिएर रणपहेली पुस ४ मा त्यहाँ पाहुना गएको प्रहरीको भनाइ छ। कुमार राईले सञ्चालन गरेको शौरभ होटलमा खानपिन गरी साथीको कोठामा पुगेर सुतेकामध्ये बास्तोलाको भने शंकास्पद मृत्यु भएको हो।

प्रहरीले दुई पटकसम्म अनुसन्धानको मिसिल बुझाउँदा पनि सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि निर्देशन दिएर अदालतमा मुद्दा दर्ता गरेको थिएन। मुद्दा दर्ता नहुनुको कारण खोजी गर्ने क्रममा प्रहरीबाट लापरबाही र कमजोरी भएको पाइएको भन्दै मृतकका आफन्त र परिवारका सदस्य आन्दोलित बनेका थिए।

अहिलेसम्म प्रहरीले सबै प्रतिवादीलाई नियन्त्रणमा लिइसकेको र घटना अनुसन्धानमा कुनै लापरबाही गरेको नपाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। रणपहेली बुटवलबाट पक्राउ परे भने मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा झापाको दमकस्थित इलाका प्रहरी कार्यालयले अर्का प्रतिवादी पौडेललाई सप्तरीबाट पक्राउ गरेर चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ। उक्त अनुसन्धान सकिएपछि कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाउन पौडेललाई मोरङ प्रहरीको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले बताए।

एसपी खड्काका अनुसार अरु प्रतिवादीहरु दर्जी, राई, गिरी र परियार यसअघि नै पक्राउ परिसकेका छन्। दर्जी र परियार अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा छन् भने आदेश अनुसार राई तीन लाख र गिरी एक लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन्।

‘विकेक पुर्‍याएर सुझबुझका साथ ज्ञान र सीपको प्रयोग गर्दै कानुनी आधार पहिल्याएर प्रहरीले घटनालाई एउटा निस्कर्षमा पुर्‍याएको छ,’ एसपी खड्का भन्छन्, ‘बास्तोला मृत्यु प्रकरण अनुसन्धानमा कुनै पनि कमजोरी नभएको कुरा अदालतको आदेशबाट पनि पुष्टि हुन्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर