धनुषा — धनुषाको इनर्वास्थित सीमा क्षेत्रमा भारतले बनाएको बाँधले नेपाली बस्ती डुबानको जोखिम बढेको छ । दशगजा नजिकैको आफ्नो बस्ती जोगाउन गत बर्खामा भारतले पुरानो बाँध अग्लो पारेको थियो । करिब १२ फिट अग्लो बनाइएको बाँधले कमलाको पानी निकास रोकिँदा गत वर्ष तीन महिनासम्म दशगजा क्षेत्रको नेपाली बस्ती जलमग्न भएको थियो । आउँदो बर्खामा डुबानको समस्या झन् बढ्ने स्थानीयको चिन्ता छ ।
दशगजामा भारतले विभिन्न चरणमा बाँध विस्तार गर्दा नेपाली पक्षले आवाज उठाउन सकेको छैन । उल्टै भारतीय पक्षले विकासका काममा नेपाली पक्षले अवरोध गरिरहेको आरोप लगाउने गरेको कमला नदी नियन्त्रण आयोजनाका इन्जिनियर गुदरप्रसाद यादवले बताए । कमलाको दशगजासहित भारततर्फ ६ सय मिटर बाँध निर्माण नहुँदा नेपाली बस्ती डुबानमा पर्छ । गत बर्खामै डुबानबाट बचाउन बाँध मर्मतका लागि ल्याएको कमला नदी नियन्त्रण आयोजनाको डोजर भारतीय पक्षले काम गर्न नदिएर फर्काएको उनले बताए ।
धनुषाको जनकनन्दनी गाउँपालिका र कमला नगरपालिकाको बस्ती कमला नदीको बाढीले बर्सेनि डुबानमा पर्छ । डुबान क्षेत्रमा राहत, उद्धार र सचेतनाका कार्यक्रम भए पनि दीर्घकालीन समाधान नहँदा महिनौंसम्म घरविहीन भएर विद्यालयमा बस्नुपरेको इनर्वाका मनोजकुमार गोइतले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सिमानाको बाँधले पानी निकास रोकेको जानकारी दिए । ‘नेपाली भूमि जोगाउने गरी नदी किनारमा भारतीय पक्षले बाँध बनाउने बताए पनि सिमानाको नापजाँचबारे मत नमिल्दा काम अगाडि बढ्न सकेको छैन,’ उनले भने ।
यसैबीच कमलाबाट हुने डुबान, बाढीले क्षति पुर्याएको बाँध र नदीमा भइरहेको अवैध उत्खननको प्रजिअ बाँस्तोलासहित सुरक्षा निकायले शनिबार अनुगमन गरेको छ । समस्या समाधानका लागि माथिल्लो निकायमा जानकारी गराइने बाँस्तोलाले बताए । भारतीय पक्षलाई डुबान समस्याबारे जानकारी गराए पनि समाधानका लागि ठोस पहल हुन नसकेको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराईले बताए ।
बस्तीमा बाढी पस्न नदिन भारत सरकारको सहयोगमा पूर्वपश्चिम राजमार्गको पोर्ताहादेखि नेपाल–भारत सीमा इनर्वासम्म ३४।६ किलोमिटर तटबन्ध निर्माण भएको छ । तर, दशगजा क्षेत्र खुला छोड्दा नेपाली भूमि डुबानमा परेको उनले बताए ।
‘पहिला पनि वर्षाका पानी र नदीको पानी बस्तीमा प्रवेश गरे पनि सहजै भारततर्फ बगेर जान्थ्यो,’ प्रमुख भट्टराईले भने, ‘भारतले दशगजासँग जोडेरै १५ फिट अग्लो बाँध बनाएपछि पानीको निकास रोकिएको छ । पानीको नेचुरल फ्लो रोकिँदा वर्षा र बाढीको पानी तीन महिनासम्म बस्तीमै थुनिन्छ ।’ लगातारको वर्षाले कमलामा बाढी बढ्दा गत वर्ष बाँधको हथमुन्डा–हरिने खण्ड बगाएको थियो । सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा बाँध बचाएर गाउँ डुबान हुनबाट जोगाइएको थियो । यसअघि मलहनिया–फुलबरिया खण्डमा बाढीले सय मिटरभन्दा बढी बाँध नै बगाएर नदीको बहाव बस्तीतिर आएको थियो ।
कमला नदीको धनुषातर्फ हथमुन्डा–हरिने, हथमुन्डा–हनुमान मन्दिर, लक्कड मराण, किरतपुर र ढोलबजा गरी ५ स्थानमा बाढीका कारण बाँध जोखिममा रहेको कमला नदी नियन्त्रण कार्यालयले जनाएको छ । बाँध मर्मतका लागि आएको बजेट पर्याप्त नभएको कर्मचारी बताउँछन् । बाँध मर्मतका लागि गत वर्ष ५ करोड र चालु आर्थिक वर्षमा ४ करोड ५९ लाख छुट्याइएको छ । गत वर्षको बजेटले बाँध मर्मत गरिएको थियो । यो वर्ष पनि मर्मतमै बजेट अपुग हुने आयोजनाले जनाएको छ ।