Aamsanchar

ज्योति लाइफको आईपीओ आज बाँडफाँड हुँदै, कति आवेदकको हुन्छ हात खाली ?

Author Image
शुक्रवार, चैत १३, २०७७

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आईपीओ आज बाँडफाँड गरिने जनाएको छ ।

कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ आवेदकबाट तीन करोड ८४ लाख ८६ हजार २२० कित्ता सेयर माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कुल आवेदकको संख्या १८ लाख ४२ हजार भए पनि योग्य आवेदकको संख्यामा केही घट्न सक्नेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्नपर्ने हुन्छ । सर्वसाधारणको लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदकले पाउनेछन् । बाँकी रहेका करिब साढे १२ लाख आवेदकको भने हात खाली हुनेछ ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर हिस्सा ७०ः३० प्रतिशत हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर