Aamsanchar

आज विश्व सम्पदा दिवस

Author Image
आइतवार, वैशाख ५, २०७८

बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तीमा संस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो समय, कालखण्ड र सभ्यताका क्रमहरू सञ्चित थिए । सोंच आउँथ्यो, हाम्रा पुर्खाहरुले यी सम्पदा बनाएर गए, एकदिन यिनै भित्ताहरु उस्तै रहनेछन् अनि म बुढो हुनेछु भन्ने । यि सम्पदा उस्तै रहन्छन् तर म उस्तै रहन्न भन्ने सोच हुन्थ्यो तर राम्रो सम्बर्द्धन अनि सुरक्षा नपाँउदा क्रमशः हामीले हाम्रो सम्पदा अनि पहिचान गुमाइरहेका त छैनौं ?

७२ सालको भुकम्पले ढलाएका हाम्रा पहिचानहरु उठ्न नसकेर चिच्याएर कराएको भान हुन्छ, अव्यबस्थित शहरीकरणले निस्सासिएका हाम्रा इतिहासहरु गुम्सिएर एैठन भएको भान हुन्छ । यि सम्पूर्ण सम्पदा अनि संरचनाको सम्बर्द्धन अनि रक्षा गरेर आँउदा पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्ने गहन जिम्मेवारी यस पुस्ताको हो । आज विश्व सम्पदा दिवस, हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यस दिवस मनाइन्छ र आज नेपालमा पनि विभिन्न कार्यक्रमका बिच यस दिवस मनाउने गरिन्छ ।

अफगानीस्तान बामीयान उपत्यकामा तालिवानले बारुदले उडाएका बुद्धका मूर्तिहरु अब के फेरि ठड्याउन सकिने छ ररु समयमै बिचार गर्न नसक्दा आज शहरहरूको जीवन नाम जुन सम्पदाका नामहरूबाट प्राप्त भयो त्यो सम्पदा नै बुच्चो रहेको छ । काष्ठमण्डप बिनाको काठमाडौं, धरहरा बिनाको नेपाली शहर यो पुस्ताले देख्न परेको छ । अझ केही अन्य सम्पदाहरु त ९० सालको भुकम्पले मासेको अनि कहिल्यै उठ्न नसकेको पनि छन्, जुन हामीलाई थाहै छैन् ।

सडक बिस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौं लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि संस्कार दुवै कुराका लागि महत्वपूर्ण छ । हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मूल्यवान छन्, यिनको रक्षा गर्नु हाम्रो कर्तब्य हो । आजको दिनमा यि कुराहरुको चेतना सबैमा होस् ।

नेपाल एउटा इतिहास वोकेको प्राचीन शहरहरुको देश हो, बसन्तपुर दरवार त केवल एउटा प्रतिनीधी स्थल मात्र भयो यस्ता धेरै एतिहासिक नेपाली संस्कार तथा सभ्यता बोकेका सम्पदाहरु नेपालका कुनाकन्दरामा छन् । हजारौं वर्ष अनूभूत गरेका अनि देखेका यस्ता सम्पदाहरुलाई हामीले कत्तिको जोगाउन सकेका छौं त ? आज नेपालीहरु सकलले यो प्रश्नको उत्तरमा गहनतापूर्वक सोंच्ने बेला मात्र हैन अबेला नै भएको छ ।

होर्डिगं वोर्डले छेकेका मन्दिरका गजुरहरु हुन या पार्किङ स्थल बनाइएका एतिहासिक सत्तलहरु हुन्स भुकम्पले छरपष्ट पारेका मन्दिरका टुक्राहरु एकै ठाँउमा राखेर अर्को मन्दिर ठड्याउन नसक्नु अनि दरवारहरु उभ्याउन नसक्नु हाम्रो असक्षमता हो या हैन्, मनन गर्ने दिन पनि आजै हो ।

कति सम्पदा त अहिले भवन अनि चौरमा परिणत भइसकेका छन् । ति कुराहरुलाई व्यूँताउन सफल नेतृत्वको उदय होस्, सम्बन्धीत निकाय र सरकारको ध्यान जाओस् ।

विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन शुरु गरिएको हो र यस दिवसमा विश्व भरि धेरै सम्पदा संरक्षणका आवाजहरु उठ्ने गर्दछन् । चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरुलाई देशमा फर्काउने प्रयासको संस्थागत अभ्यासका लागि पनि आजको दिन जरुरी छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सम्पदाको सुरक्षा होस्, हराएका फर्किउन्, लडेका उठुन अनि उठेकाहरु सजिउन । विश्व सम्पदा दिवसको सबैलाई शुभकामना !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 469

प्रतिक्रिया (०)

सम्बन्धित खबर