Aamsanchar

नेपाल पत्रकार महासंघ झापाको नयाँ कार्यसमितिद्वारा नौ वटा प्रथाप पारित

Author Image
सोमवार, वैशाख ६, २०७८

बिर्तामोड ।  नेपाल पत्रकार महासंघ झापाको १३ औं अधिवेशनबाट निर्वाचित जिल्ला समितिको प्रथम बैठक आज महासंघको बिर्तामोडस्थित कार्यालयमा बस्यो । नवनिर्वाचित अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न ९ वटा एजेण्डा पारित गरेको छ ।

पारित एजेण्डाहरुमा  महासंघको १३ औं जिल्ला अधिवेशनसंगै प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत झापाबाट तीनै तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने महासंघको निवर्तमान कार्यसमिति, निर्वाचन समिति, विभिन्न सञ्चारसम्वद्ध संघसंस्था, महासंघका सदस्यहरू, महासंघ कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षा निकाय लगायत निर्वाचन प्रक्रियामा जोडिएका सबै पक्षप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई वृद्धि गरी क्रमशः एक करोड रुपैयाँ पुर्याउने ,कोष वृद्धिमा सहयोग तथा योगदान गर्न सबै पक्षलाई आह्वान गर्ने, महासंघका सबै सदस्यलाई अनिवार्य रुपमा कोषको सदस्य बन्न वैठकले आह्वान गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित र नेपाली पत्रकारिताको संस्थागत विकासका , सूचनाको हक, नागरिकको आधारभूत अधिकारको संरक्षण, सम्बद्र्धनमा दृढतापूर्वक क्रियाशील रहने प्रतिवद्धता बैठकले गरेको छ ।

केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री, सञ्चार संस्था तथा श्रमजीवी पत्रकारको हित हुनेगरी बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ , झापाका स्थानीय तहमा यस सम्वन्धी कानून निर्माणमा आवश्यकता अनुसार महासंघले सहजीकरण गर्ने निर्णय वैठकले गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारी पुनः फैलिइरहेका कारण आवश्यक सावधानी र सुरक्षा मापदण्ड अपनाउदै आफ्नो दायित्व निर्वाह गर्न सबै सञ्चारकर्मी र सञ्चार गृहलाई आह्वान गर्ने , कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएका पत्रकार, संकटमा परेका मिडियाका लागि आवश्यक सहयोगको पहल गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ झापाका सदस्य कमल मिश्रको कोरोना भाइरस संक्रमणका कारण उपचारका क्रममा यही वैशाख २ गते विहीबार काडमाडौंमा ४९ वर्षको अल्यायुमै भएको अकल्पनीय निधनले महासंघ झापा शाखा मर्माहत र स्तब्ध बनेको छ । २०४९ सालदेखि पत्रकारितामा क्रियाशील मिश्रको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । शोकको यस घडीमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत मिश्रको आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रदाञ्जलि व्यक्त गर्दै  शोकाकुल परिवारजनमा   गहिरो समवेदना व्यक्त गरेको थियो ।

महासंघ झापा शाखाको औपचारिक सिफारिसबाट वितरण हुने पत्रकारिता पुरस्कार, सम्मानहरु कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले नलिने र उक्त सम्मान पुरस्कारहरु अन्य सदस्यहरुलाई सिफरिस गर्ने निर्णय वैठकले गरेको छ ।

महासंघलाई साझा र समावेशी संस्थाको रुपमा स्थापित गर्दै महासंघका हरेक कामलाई प्रविधिमैत्री र पारदर्शी बनाउने, सवै गतिविधि सदस्यहरु समक्ष सम्प्रेषण गर्ने तथा खर्च प्रणालीलाई मितव्ययी बनाउने , अतिथि सत्कार लगायत कुनै पनि सन्दर्भमा मद्यपान, धुम्रपान तथा फजुल कार्यमा महासंघको बजेटबाट खर्च नगर्ने वैठकले निर्णय गरेको छ ।

वैठकमा सक्रियतापूर्वक सहभागिता जनाउने सबै पदाधिकारी तथा कार्यसमिति सदस्यहरुप्रति धन्यवाद ज्ञापनसहित अध्यक्षबाट वैठकको समापन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर