Aamsanchar

एक महिनाअघि मृत्यु भएका व्यक्तिविरुद्ध जबर्जस्ती करणी मुद्दा

Author Image
शुक्रवार, वैशाख १०, २०७८

इलाम — झन्डै एक महिनाअघि मृत्यु भएका व्यक्तिविरुद्ध सरकारी वकिल कार्यालयले जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । फाकफोकथुम गाउँपालिका–४ का (४३ वर्षे) गणेशकुमार बलम्पाकी मगरविरुद्ध जरिवाना, क्षतिपूर्ति र पीडित राहत कोषमा रकम जम्मा गर्नुपर्ने मागदाबीसहित अभियोग दर्ता गरिएको हो । मगरको गत चैत १२ गते मृत्यु भएको थियो ।

मगरविरुद्ध फागुन १३ गते स्थानीय १३ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको हो । कसुरदारबाट पीडितलाई मनासिव क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा रकम जम्मा गराइपाउन पनि अभियोगमा मागदाबी गरिएको जिल्ला न्यायाधिवक्ता युवराज महतले जानकारी दिए । बिहान घरमा एक्लै रहेकी किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप मगरविरुद्ध छ ।

जबर्जस्ती करणी गरेकै विषयलाई लिएर किशोरीका आफन्तले फागुन १९ मा मगरमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटपछि घाइते भई उपचार गराएका उनको चैत १२ मा घरमै शव भेटिएको थियो । उनको कुटपिटकै कारण मृत्यु भएको परिवारको आरोप छ ।

प्रहरीले कुटपिटका आरोपित तीन जनालाई पक्राउ गरिसकेको छ । ‘घटनाको गम्भीर अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक नवीनराज राईले भने, ‘जबर्जस्ती करणी र कुटपिटबाट मृत्यु भएको फरकरफरक मुद्दा भएकाले त्यहीअनुसार अनुसन्धान अघि बढाइएको छ ।’ प्रतिवादीको मृत्यु भइसके पनि निजको जायजेथाबाट क्षतिपूर्ति र जरिवाना असुलीको माग गरिएको न्यायाधिवक्ता महतले बताए । ‘अपराधीको मृत्यु भएपछि अपराध मर्छ भन्ने मान्यता रहे पनि देवानी दायित्व कायमै हुन्छ,’ उनले भने, ‘गम्भीर अपराधमा कानुनले मृत्युपछि पनि छाड्दैन भन्ने प्रमाण पनि हो यो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर