Aamsanchar

समयमा कम्पनीले काम नगर्दा इलामको चिसोपानी पञ्चमीमा विद्युत् सवस्टेशन अलपत्र

Author Image
बिहिवार, वैशाख २३, २०७८

इलाम – निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको वर्ष दिन बितिसक्दा पनि निर्माण कम्पनीले काम नगर्दा इलामको माङ्सेबुङ गाउँपालिका–६ चिसोपानी पञ्चमीमा निर्माणाधीन विद्युत् सवस्टेशन अलपत्र परेको छ। सन् २०१७ मा साढे २ वर्षमा निर्माण सक्ने गरि सम्झौता भएको सवस्टेशनको काम निर्माण कम्पनीले समयमा नसक्दा पश्चिमी इलामका बासिन्दाहरूले विद्युत उपभोगमा समस्या भोग्दै आएका छन्।

समयमा सवस्टेशनको काम नसकिँदा इलाम र पाँचथरको सीमा क्षेत्रका बासिन्दा अध्याँरोमा बस्न बाध्य भएका हुन्। सव–स्टेसन अलपत्र परेपछि पाँचथर र इलामको सीमा क्षेत्र राँके, रबी हुँदै इलामको माङ्सेबुङको ३३ केभिको विद्युत प्रशारण लाइन चार्ज गर्ने काम नभएको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताए। इलामको चिसोपानी पञ्चमीसँगै पहाड र तराईका गरी १३ वटा सव–स्टेसन निर्माणको जिम्मा ए टु जेड नामक भारतीय कम्पनीले पाएको थियो। भारतीय कम्पनीले त्रिपुरेश्वर–जयदुर्गा जेभिलाई निर्माणको काम गर्ने नेपालको आधिकारीक प्रतिनिधि तोकेको थियो।

त्रिपुरेश्वर–जयदुर्गाले इलामको देविडाँडा निर्माण सेवालाई सिभिल कन्स्ट्रक्सनको कामको जिम्मा दिएको थियो। तर निर्माणको काम गरेपनि नियमित रुपमा भुक्तानी त्रिपुरेश्वर जयदुर्गा जेभीले नदिएको देविडाँडा निमाण सेवाका डिबी तामाङले बताए। त्रिपुरेश्वर–जयदुर्गा जेभी प्रदेश २ का किसानलाई उखुको मूल्य नदिएको आरोप लागेका सर्लाहीले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालको हो। अहिले सिभिल पट्टिको ९५ प्रतिशत काम सकिए पनि भुक्तानी नपाएको देविडाँडा निर्माण सेवाका नवीन तामाङ बताउँछन्।

‘निर्माणको कामको सम्झौता गर्दा त्रिपुरेश्वर जयदुर्गा जेभीका प्रतिनिधिले २५ लाखमाथिको मात्रै बिल पेश गर्न भनेका थिए।’ उनले भने–‘त्यही भएर हामीले धमाधम काम गरेर २५ लाख माथिको बिल पठाए पनि नियमित रुपमा कामको भुक्तानी पाएका छैनौँ।’ त्रिपुरेश्वर जयदुर्गा जेभीले बिल पास भएको ७ दिनभित्र स्थानीय निर्माण कम्पनीलाई भुक्तानी दिने सम्झौता गरेको थियो। देविडाँडा निर्माण सेवाले २ करोड २० लाखको काम गरे पनि अहिलेसम्म डेढ करोड रुपैयाँ मात्रै पाएको डिबि तामाङले बताए।

त्रिपुरेश्वर जयदुर्गा जेभीले एक अर्ब २५ करोडमा १३ वटा सव–स्टेशन निर्माणको जिम्मा पाएको नेपाल विद्युत् प्राधिकरण योजना महाशाखाका गोदराज ढकालले बताए। ‘निर्माण कम्पनीले निर्माणको जिम्मा पाएकामध्ये ८ वटा निर्माण सम्पन्न भए पनि तराईका २ वटा र पहाडी जिल्लाका ३ वटा सव–स्टेसन अलपत्र छन्।’ ढकालले भने, ‘ निर्माण कम्पनीको आर्थिक अवस्था संकटग्रस्त भएकाले त्यसलाई मध्यनजर गरी नियमित रुपमा काम अघि बढाउने योजनामा छौँ।’ भुक्तानीको

समस्या देखिएकाले स्थानीय ठेकेदारलाई सिधैँ भुक्तानीको व्यवस्था गरी निर्माणको काम सक्ने योजना रहेको ढकालले बताए। उनका अनुसार इलामको मात्रै सव–स्टेशन निर्माणका लागि आठ करोड बढी खर्च हुनेछ। ‘सिभिलको काम सकिनेबित्तिकै प्राविधिक सामग्री जडान हुनेछ।’ ढकालले भने, ‘प्राविधिक उपकरणहरु विराटनगरसम्म आइसकेकाले जडान गर्न धेरै समय लाग्दैन, यो आर्थिक वर्षको अन्त्यसम्ममा काम सक्ने योजनामा छौँ।’

सव–स्टेसनसँगै निर्माण कम्पनीले चिसोपानी पञ्चमी क्षेत्रमा विद्युतीय प्रशारण लाइन निर्माणको काम गर्नुपर्ने हुन्छ। लामो विद्युत् प्रशारण लाइनलाई व्यवस्थित गर्न सव–स्टेशन निर्माणको योजना भए पनि समयमा काम नहुँदा लोड व्यवस्थापनमा समस्या भएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१