Aamsanchar

डिसइन्फेक्सन टनेल र हात धुन राखिएका ठुल्ठुला पानीका ट्याँकी वेवारिसे

Author Image
बिहिवार, वैशाख ३०, २०७८

झापा। नोवल कोरोना भाइरस कोभिड १९ को पहिलो संक्रमणमा विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न ठाउँमा जडान गरिएका डिसइन्फेक्सन टनेल र हात धुन राखिएका ठुल्ठुला पानीका ट्याँकी अहिले अलपत्र अवस्थामा छन् ।

मेची अभियानको संयोजनमा विभिन्न संघ संस्थाहरुले शहरका मुख्य भाग र सरकारी कार्यालयमा हजारौं रुपैयाँको लगानीमा डिसइन्फेक्सन टनेल र हात धुनका लागि व्यवस्थित पानीका ट्याँकी र वेसन जडान गरिए पनि अहिले ती सवै संरचना वेवारिसे अवस्थामा छन् । मेची अभियानको संयोजनमा मेचीनगर—६ काँकरभिट्टाका आधा दर्जन सहकारी संस्थाले संयुक्तरुपमा लगानी गरेर टनेल इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई उपलब्ध गराएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा जडान गरिएको भएपनि अहिले त्यो प्रयोग विहिन बनेको छ ।

अभियानका संयोजक विजय डालमियाका अनुसार जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, मेची प्रादेशकि अस्पताल भद्रपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडमा राउण्ड टेवलको सहकार्यमा सुविधा सम्पन्न र उच्च प्रविधिको डिसइन्फेक्सन टनेल जडान गरिएको भएपनि अहिले सवै काम नलाग्ने अवस्थामा छन् ।

मित्रराष्ट्र भारतका विभिन्न ठाउँमा कोरोना भाइरस कोभिड १९ को संक्रमण तथा मानिसको मृत्यु भइरहेका बखत भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वीनाका काँकरभिटसहित जिल्लाका अन्य ठाउँमा डिसइन्फेक्सन टनेलको आवश्यकता महसुस गरी जडान गरिएको थियो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टासहित जिल्लाका अन्य ठाउँमा कुल ४० हजार रुपैयाँमा निर्माण भएको टनेल निर्माणको लागत महेन्द्रद्वार सहकारी संस्था,आधुनिक बचत तथा ऋण सहकारी संस्था, मखमली महिला बचत तथा ऋण सहकारी संस्था, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था, नागरिक बचत तथा ऋण सहकारी संस्था र काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले व्यहोरेका थिए ।

मान्छे भित्र प्रवेश गर्दा खुट्टाबाट स्वीच अन गरेर प्रवेश गर्ने र मानिस टनेलबाट बाहिर निस्कदा आफैं बन्द हुने गरी टनेलको निर्माण गरिएको थियो । टनेल भित्र रहेका ५ वटा नोजलबाट इएम घोलसंग मिश्रण गरिएको पानीको फोहोराले मानिसको पुरै शरीरको बाहिरी भाग भिजाउने भएकाले शरीरको बाहिरी भागमा रहेको भाइरस नष्ट हुने प्राविधिक पक्षले जनाएको छ । टनेलमा प्रयोग गरिएको इ.एम झोलको घोलमार्फत पुरा शरीरलाई डिसइन्फेक्सन गराएर मात्र प्रहरीलगायत अन्य कार्यालय भित्र प्रवेश गर्ने ब्यवस्था गरिएको भए पनि अहिले कसैले पनि त्यसको प्रयोग गरेका छैनन् ।

यसैगरी, नेपाल रेडक्रस सोसाइटि झापा शखाले जिल्लाका विभिन्न स्थानमा अत्याधूनिक प्रविधिबाट एकपटकमा चारजनासम्मले हातधुन सक्ने व्यवस्था मिलाएको थियो । सम्भवत यस्तो प्रविधिजडान गरि यस्तो व्यवस्था मिलाइएको झापामै पहिलो भएको शाखाले दावी गरेपनि आज ट्याँकीमा पानी नभएर र वेसन फुटेर अलपत्र छन् ।

झापा शाखाले यूनसेफ, आइएमओ तथा अन्तर्राष्ट्रिय रेडक्रसलगायतका दातृ संस्थासँग मिलेर झापाको मेचीनगर र विर्तामोड नगरपालिका तथा कचनकवल र झापा गाउँपालिकासहित मुख्यः राजमार्गसँग जोडिएका मानिको आवतजावत र भीडभाड अहिल बढी हुने स्थानमा ५ सय लिटर पानीको ट्याँकीमा एकसाथ चारवटा वेसन जडान गरेर यस्तो व्यवस्था मिलाएको थियो ।

यो प्रवृत्तिबाट एकसाथमा चारजनासम्मले राम्ररी हात धुनसक्ने गरी व्यवस्था मिलाईएको थियो । केटाकेटीलाई समेत हात धुन सजिलो होस भन्ने हेतुले एउटा वेशन बालबालिकालाई लक्षित गरी राखिएको थियो । हात र मुखमात्र सफा राख्न सके नोवल कोरोना भाइरस कोभिड १९ को भाइरसको संक्रमणबाट केहीहदसम्म बच्न सकिने भएकाले सर्वसाधारणलाई हातमुख धुनुपर्छ भन्ने चेतना दिन र हातमुख धुने बानी बसाल्न पनि मानिसहरुको अलिबढी चहलपहल हुने स्थानमा यस्तो व्यवस्था मिलाइएको थियो ।

मेचीनगर नगरपालिकाको वडानम्बर—६ स्थित काँकरभिट्टा वसपार्कमा यस्तो व्यवस्था मिलाईएको थियो । यहाँ राख्दा सर्वसाधारणदेखि टाढाटाढा जाने यात्रुलाई समेत सजिलो हुने विश्वास लिईएको थियो ।

यसमा लाग्ने पानीको व्यवस्थापन स्थानीय पालिका तथा संघ संस्थाले गर्नुपर्ने र आवश्यक सावुनलगायतका अन्य वस्तु नेपाल रेडक्रस सोसाइटि झापा शाखाले व्यवस्थापन गर्ने बताईएको थियो । नेपाल रेडक्रस सोसाईटि झापा शाखाका सभापति लोकराज ढकालले जिल्लाका केही स्थानमा राखिएका ती संरचना कामै नलाग्ने अवस्थामा पुगेको बताउँदैं कुनै ठाउँ राम्ररी सदुपयोग भएको बताउनुभयो । मेची अभियानका संयोजक विजय डालमियाले आफुहरुले गास काटेर रकम जम्मा गरी टनेल जडान गरेको भएपनि अहिले ती सवै सामाग्री वेवारिसे र अलपत्र परेको देख्दा दुःख व्यक्त गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्ला प्रशासन कार्यालय झापाको मुलगेटमा पनि जडान भएको भएपनि चल्ने अवस्थामा नरहेकाले अब तत्कालै सवै डिसइन्फेक्सन टनेल र हात धुन राखिएका ठुल्ठुला पानीका ट्याँकी प्रयोगमा ल्याउने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)