Aamsanchar

‘ईद उल फितर’ को महत्व यस्तो

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘ईद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ ।

यदि यो दिन कहिले हो भनी दुविधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ । एकदिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ ।

आउनुहोस् ईदको यहि पेरिफेरिमा आज केही कुरा गरौं।

इस्लाम धर्मावलम्बीहरूको एक महान चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ, त्यसकारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ ।

यो एउटा उत्साह, जित र समानताको चाड हो, जहाँ परिवार र समुदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरू भरिएका हुन्छन् । यिनै सदाचारका शुभकामनाहरू एक अर्कालाई अङ्गालोमा बेर्दै आदान–प्रदान गर्ने गरिन्छ ।

इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्रग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यसकारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ ।

प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको ईदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान–प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।

आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने इदका सम्पूर्ण खुशीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।

बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठूलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई ईदको ईदि भनिन्छ जसमा ठूलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गीन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलीमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् ।

ईदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पवूर्ण छन् भन्ने बुझिन्छ ।

नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाई दिदी–बहिनीहरूलाई ईदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ ।

यस चाडले भातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ इद मनाउन पाउन भनेर बिभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । भातृत्व र उत्साहको यो पर्वमा तपाईं हामी सबैलाई ईद उल फितरको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1066

प्रतिक्रिया (०)

सम्बन्धित खबर