Aamsanchar

इतिहासमा शंकराचार्य

Author Image
आइतवार, जेठ २, २०७८

शंकराचार्यको इतिहासबाट आज कुरा उक्काउन जाँदैछौं । त्यसअघि नेपाली तथा विश्व सनातन हिन्दू लागि गर्वको एउटा प्रकाण्ड कुरा पनि जोड्न चाह्यौं ।

नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शङ्कराचार्य इतिहासमा प्रथम महिला शङ्कराचार्यबन्न सक्ने प्रबल सम्भावना छ । महिलाहरू डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुन डण्डी स्वामी हुन जरूरी भएकाले यसअघि महिला शंकराचार्यको विषयमा केही विवाद पनि भएको हो ।

तर जेहोस्, यसपाला वैदिक सनातन संस्कारको १२०० वर्षको इतिहासमा प्रथम महिला शङ्कराचार्य हुने यात्राको अन्तिम खुड्किलोमा पुग्न साध्वी हेमानन्द गिरी सफल हुनुभएको छ ।

यसरी यो वर्षको शङ्कराचार्य जयन्ती वैदिक सनातन संस्कार अनि हिन्दू धर्मका अनुयायीका लागि अन्य वर्ष भन्दा फरक र गौरवमय पनि छ । शङ्कराचार्य आठौं शताब्दीका अद्वैतवादका प्रवर्तक दार्शनिक हुन् ।

यस वर्ष आधुनिक इतिहासका शङ्कराचार्य पिँढीबाट काँचीका शङ्कराचार्य जयन्द्र सरस्वतीको निधन भयो । यस वर्ष पीठहरूमा नयाँ शङ्कराचार्र्यको आगमनको चर्चाको उत्तरार्धमा उनको निधनले सारा हिन्दूलोक मर्माहित भएको छ ।
वैदिक सनातन हिन्दू संस्कार अनि दर्शनका रखवाला अनि ज्ञानका अद्भूत श्रोत शंकराचार्यको विषयमा हजार जिब्रो भएका शेष नागले पनि वर्णन र बयान गर्न सक्दैनन् । धर्मरक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकीकरणका लागि शङ्कराचार्यको युगान्तकारी देन छ ।

भारत वर्षका आधुनिक धर्म संस्थापक शङ्कराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरू अझै पनि धर्मशास्त्रहरूमा कालजयी वचन बनेका छन् । उनले अध्यात्म दर्शन उजागर गरेका थिए ।

उनकै प्रयत्नबाट वैदिक सनातन हिन्दू धर्मको संरक्षण भई हिन्दू नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शङ्कराचार्र्य अद्वैत वेदान्तका संस्थापक थिए । श्री शङ्कराचार्र्यले नेपालसहित सम्पूर्ण हिमवत्खण्डमा महत्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरू छन् ।

धार्मिक मान्यता अनुसार शङ्कराचार्यलाई आदीदेव भगवान शिव शंकरका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार, शङ्कराचार्यका पिता शिव गुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरूका सन्तान भएका थिएनन् । शिवगुरुले सन्तान प्राप्तिको इच्छा पूरा गर्न श्रद्धापूर्वक भगवान शिवको तपस्यामा लीन भए ।

उक्त तपस्याका प्रभावले भोले शंकरले शिव गुरुलाई सपनामा दर्शन दिए । भगवान् शंकरले वरदान माग भने, शिवगुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । तर भगवान शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।

शिवगुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिँदै उक्त पुत्रका रूपमा स्वयं आफ्नो जन्म हुने बताइदिए । यसरी शिवगुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रूपमा शङ्करलाई जन्म दिइन् ।

तिनै शिवको अवतारका रूपमा जन्मिएका कारण उनलाई शङ्कराचार्य भनिएको थियो । शङ्कराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्वशास्त्र पढेका थिए । यसैकारण उनी आदि गुरु शङ्कराचार्यका नामबाट प्रसिद्ध भए ।

प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान हिन्दू दार्शनिक एवं धर्मगुरु शङ्कराचार्यको जन्म जयन्ती मनाइन्छ ।
शङ्कराचार्यको जन्म ईशापूर्व ७८८ मा भएको थियो भने मृत्यु ९२० मा भएको थियो । आदि जगतगुरु शङ्कराचार्र्यको २५२७ औं जन्म जयन्ती आज भव्यताका साथ मनाइँदैछ । शङ्कराचार्य जयन्तीका अवसरमा मठहरूमा पूजाआजा गरिन्छ ।
वैदिक विद्वानहरूले वेद पदहरू वाचन गर्छन् । शोभायात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दू धर्मको उत्थानका लागि छलफल र प्रवचनहरू आयोजना गरिन्छन् ।

भारत केरलाको कलाडीमा जन्मिएका शङ्कराचार्य केवल ३२ वर्षसम्म मात्र बाँचेको पाइन्छ । यसबीचमा हजारौं वर्षमा गर्न नभ्याइने कार्य शङ्कराचार्यबाट भएको पाइन्छ । शङ्कराचार्र्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौं किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसँग दिक्षा लिएको पाइन्छ ।

नर्मदा तटको ४ वर्षको बसाईमा शंकराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम विन्दू हासिल गरेको बताइन्छ । भारत वर्षका ४ कुनामा ४ वटा मठहरू स्थापना गरेर सनातन धर्मको सस्थागत रक्षार्थ शङ्कराचार्र्यले गरेको संरचना अझै कायम छ ।

भारत वर्षको लम्वाई र चौडाई हुनेगरी शङ्कराचार्यले सबैजसो भू–भागमा गएर दिक्षा दिने र त्यहाँ भएका अन्य विद्वानसंग शास्त्रार्थ गर्ने बताइन्छ । यसक्रममा अन्य धर्म या दर्शनमा गएकाहरूलाई पनि सनातन धर्ममा फर्काउने पावन कार्य शङ्कराचार्यले नै गरेको इतिहास छ ।

शङ्कराचार्य एउटा असल कवि पनि हुन् । सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कविताहरू शंकराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शङ्कराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शङ्कराचार्य अमर रहुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर