Aamsanchar

नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको पाईए कारबाही गर्न शिक्षामन्त्रीकाे निर्देशन

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्।

पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदको आज सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए। उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्।

प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। ‘तपाईहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’मन्त्री श्रेष्ठले निर्देशन दिए। मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए।

उनले भने,‘यस विषयमा तत्काल अनुगमन गर्नेछौँ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाउनेछौँ।’ उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए।

अधिकांश बिक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी पाठ्यपुस्तक बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिए।

‘पुरानो नक्सा राखेर पुस्तक छपाई गरेको जानकारी पाएका छौँ, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौँ’,उनको भनाई थियो। अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिके लगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको पाइएको छ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिनसमेत निर्देशन दिए। बैठकले विभिन्न विषयका कक्षा ६–८ को पाठ्यक्रम स्वीकृत गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर