Aamsanchar

झापामा एकका लागि एक अभियानबाट अक्सिजन बैंक उदघाटन

Author Image
बुधवार, जेठ २६, २०७८

बिर्तामोड। अक्सिनजन अभावमा कसैले पनि मृत्युवरण गर्नु नपरोस् भनेर झापामा एकका लागि एक अभियानले अक्सिजन बैंक सञ्चालनमा ल्याएको छ ।
बिर्तामोड २ चारपानेस्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा स्थापित अक्सिजन बैंकको बुधवार एक कार्यक्रमकाबीच झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि तिमिल्सिनाले नागरिकस्तरबाट भएको उक्त कार्यको प्रशंसा गर्दै अभियानकै अगुवाईमा पालिकाहरुको साझेदारी रहने गरी अक्सिजन प्लान्ट निर्माणमा अघि बढ्न पनि आग्रह गरेका छन् ।
अभियानका संयोजक महेन्द्रकुमा गिरीले कोरोनाबाट जीवन बचाउनका लागि देश–विदेशका नागरिकको सहयोगमा अक्सिजन बैंक स्थापना गरेको बताए । उनले हालसम्म रु. १५ हजार प्रति सिलिण्डरका दरले १०२५ सिलिण्डर बराबर एक करोड ५३ लाख ७५ हजार रुपैयाँ संकलन भएको जानकारी दिए ।

हाल अक्सिजन बैंकमार्फत दुई सय सिलिण्डर जिल्ला प्रशासन कार्यालयको सिफारिसमा विभिन्न अस्पतालमा वितरण गरिएको र बैंकमा तीन सय सिलिण्डर रहेको जानकारी गिरीले दिए । विपन्नहरुका लागि समेत सहज रुपमा अक्सिजन सिलिडर उपलब्ध गराउन कार्यविधि बनाएर अभियानले व्यवस्थित रुपमा अक्सिजन बैंक सञ्चालन गर्ने संयोजक गिरीले बताए ।
कार्यक्रममा अभियानको साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले अभियानमार्फत छोटो समयमा अक्सिजन बैंक स्थापना भएर नागरिकको जीवन रक्षामा योगदान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले अभियानमा सहयोग गर्ने विभिन्न देशका राष्ट्रिय समितिहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले अक्सिजन बैंक स्थापना गरेर एकका लागि एक अभियानमार्फत महत्वपूर्ण काम भएको बताए । सहकारी संघ अभियानको साझेदार संस्था समेत रहेको छ ।

अभियानका सहसंयोजक विनोद बस्नेतले विशुद्ध समाज सेवा र महामारीमा नागरिकको जीवन रक्षाका लागि अभियानले अक्सिजन बैंक स्थापना गरेको बताउँदै उद्देश्य अनुसार बैंकलाई व्यवस्थित रुपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले एकका लागि एक अभियानमार्फत भएको कामको प्रशंसा गर्दै नागरिक स्तरबाट भएको काम मुलुककै लागि रोलमोडलको रुपमा रहेको र अक्सिजन बैंक व्यवस्थित रुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापाको उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

अभियानले प्रशान्त भण्डारीको संयोजकत्वमा नवीन गट्टानी, नवीन पोखरेल, निर्मल भट्टराई र गजेन्द्र पौडेल सदस्य रहेको अक्सिजन बैंक सञ्चालन उपसमिति समेत बनाएको छ । उपसमितिले कार्यविधि बनाई अभियानमार्फत पारित गरेर बैंकलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बताइएको छ ।

अक्सिजन सिलिण्डरसँगै अक्सिजन लगाउनुको लागि प्रयोग हुने फ्लो मिटर र पाइप लगायतका सामानसमेत अभियानले व्यवस्थापन गरेको छ । विपन्न वर्गका लागि समेत सहज रुपमा उपलब्ध हुने अक्सिजन सिलिण्डर अभियानले मुनाफारहीत ढंगले सेवामुखी रुपमा सञ्चालन गर्ने बताइएको छ ।

अभियानले बैंक स्थापनाको लागि अक्सिजनको सिलिण्डर चीनबाट खरिद गरेको हो । बैंक स्थापनापछि अभियानले झापाका १५ वटै पालिकाले साझेदारी गर्ने र आवश्यकता महशुस गर्छन् भने अक्सिजन प्लान्ट निर्माणमा महत्वपूर्ण योगदान गर्ने संयोजक गिरीले घोषणा गरेका छन् ।
एक बर्षअघि कोरोना महामारीसँगै शुरु भएको अभियानले विपन्नलाई राहत वितरण, सडकमा अलपत्र परेकालाई खाना खुवाउने काम, सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण, क्वारेन्टाइन र होल्डिङ सेन्टरमा रहेकाहरुलाई खाना तथा वेड निर्माणमा सहयोग, पीसीआर ल्याब स्थापना हुँदै प्लाज्मा बैंक स्थापनामा महत्वपूर्ण सहयोग गरेको थियो । कोरोनाको दोस्रो भेरियन्ट बढ्दै गएका बेला अक्सिजन अभावमा विभिन्न जिल्लामा कतिपय मानिसको ज्यान गएको समाचार आउन थालेपछि अभियानले अक्सिजन बैंक स्थापना गर्ने उद्घोषका साथ काम थालेको थियो । उक्त दुबै समयमा आवश्यक प्रक्रिया र बैठकको संयोजन भने संवाद समूह झापाले गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर