आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागू औषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।
सन् २०२१ पनि सन् २०२० झैं कोरोना त्रासको त्रासदीमा छ । खोप, ओखती र उपचारको दुविधा एकातर्फ छ भने एक्लोपनाले मानसिक स्वास्थ्यमा आघात पुर्याएर लागू औषधको बढ्दो प्रयोग अर्कातर्फ छ । सन् २०२१ को अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसले औषधिहरूको प्रयोगको अन्यौलता हटाउन र ओखतीहरूको उपयोगको सही जानकारी सबैसामु पुर्याउन भूमिका खेल्ने लक्ष्य राखेको छ ।
विश्वमा अधिकांश लागू औषधका प्रयोगकर्ता अनि कारोवारीहरू युवा वर्ग संलग्न भएको तथ्यांकहरुले देखाउँछ । यो उमेरमा मानिसहरू अत्यन्त जोखिम अनि तरल अवस्थामा रहने विश्लेषण मनोविज्ञहरूको छ । अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन् युवाहरूलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ ।
विश्वमा गएको शताव्दीबाट लागू औषधको कारोवार धेरै गुणाले बढेको पाइन्छ । लागू औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मानिस मर्ने गर्छन् भने यसको प्रयोग गर्ने मानिसहरूको संख्या यकिन गर्न सक्ने अवस्थामै छैन । सन् २००१ मा भारत सरकार अनि अल इण्डिया मेडिकल स्कूलको संयुक्त सर्भेक्षणले करिब ७ करोड २५ लाख मानिस लागू औषध प्रयोग गर्ने पाइएको थियो भने यो संख्या यतिखेर दोब्बर भन्दा धेरै भएको अनुमान छ ।
खुला सीमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यो समस्याबाट अछुतो छैन । लागू औषध कारोवारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै अनेक रोगहरू जस्तै एचआईभी, हेपाटाइटिस लगायतहरू पनि यसै कारणले पनि सर्ने गर्छ ।
नेपालमा पनि लागू औषधको कारोवार र प्रयोग सन् १९६० पश्चात् हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ । गाँजाको अनाधिकृत खेती र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्य व्यवस्थाका कारण नेपाल पनि लागू औषधको कार्यभूमि बन्दै आएको देखिन्छ ।
उता ओखती अनि डाक्टरी कागजको उपयोग गरी लागू औषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ, जुन अत्यन्त दुःख लाग्दो सवाल हो । सडक बालबालिकाले ‘डेन्ड्राइट’ नामक सुँघेर नशा लाग्ने तत्वको प्रयोग खुलेयाम गरिरहँदा पनि प्रशासन लगभग मौन देखिन्छ ।
नेपालका शहरहरूमा व्यवसायिक रूपमै खोलिएका दुव्र्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसायिक सफलताले हाम्रो वास्तविक वर्तमान अवस्था बयान गरिहेको छ । आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसमा नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशील हुँदै हातेमालो गर्नुपर्ने देखिन्छ ।
लागू औषध सेवनले हिरो हैन जीरो बनाउँछ भन्ने यथार्थ आउँदा नेपाली पुस्तासम्म पुर्याउनु जरुरी छ । चुरोटका ठुटाबाट खोक्दै शुरु गरेको नशायात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन । जीवनमा रस खोजौँ नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउनुपर्ने देखिन्छ । उता नेपालमा कमजोर राज्य व्यवस्थाको उपयोग गर्दै लागू औषध तस्करका ठूलै सञ्जाल सक्रिय रहेको पनि कथाहरु आमसञ्चार माध्यममा छाउँछन् । उनीहरूको सञ्जाल विमानस्थल, भन्सार, सिमा अनि आयात–निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ ।
सामान्य वैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलासी लिने अनि दुःख दिने सरकार कर्मचारीको नाकैमुनिबाट हजारौँ किलो लागू औषध ल्याइन्छ, तर तिनलाई समात्ने कार्य भएको देखिन्न । आजको दिन हामी सबैले लागू औषधको कारोवार र तस्करकाविरुद्ध एक हुनुपर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालना निम्ति पैरवी गर्नुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसमा सबैको यतातिर ध्यान जाओस् ।