Aamsanchar

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो झापाको धान सुपरजोन क्षेत्रमा

Author Image
मङ्गलवार, असार १५, २०७८

झापाको धान सुपरजोन क्षेत्रमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो । धान सुपरजोन क्षेत्रको रुपमा रहेको कचनकवल गाउँपालिका १ घेराबारीमा कृषि ज्ञान केन्द्र झापाले रोपाइँ नै आयोजना गरि राष्ट्रिय धान दिवस मनाएको हो । केन्द्रले स्थानीय गणेश कृषक समूहसगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको कार्यालय प्रमुख निलकमल सिंहले जानकारी दिए । सो क्षेत्रको आठ कठ्ठा खेतमा रोपाइँ गरिने उनले बताए । केन्द्रले प्रत्येक बर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाउने गरेको छ ।

झापामा यसपटक १७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको प्रमुख सिंहले बताए । झापाको ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । सो क्षेत्रबाट ४.७ मेट्रीक टन प्रती हेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रीक टन धान उत्पादन भएको उनको भनाई छ ।

यता सरकारले कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्धेश्यले विभिन्न कृषि जोन क्षेत्र घोषणा गरि कार्यक्रम अगाडी बढाएको छ । झापामा धान, मकै, रबर र सुपारी गरि चओटा सुपर जोन निर्धारण गरेको छ । कचनकवल बाहेक अन्य चौध पालिकामा प्रति पालिका २०० हेक्टरका दरले धान सुपरजोन क्षेत्र निर्धारण गरेको छ भने भद्रपुरका केही वडा र कचनकवलमा गरि १ हजार ३०० हेक्टरलाई धान सुपर जोन क्षेत्र घोषणा गरि कार्यक्रम अगाडी बढाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले जानकारी दिए ।

कृषिलाई आधुनिकीकरण गर्न यान्त्रिककरणमा जोड दिँदै उत्पादन बढाउने परियोजनाको लक्ष्य रहेको उनले बताए । सुपरजोन क्षेत्रमा मात्र यो बर्ष २२ प्रतिशत रोपाइँ सकिएको उनको भनाई छ । गएको बर्ष यहि अवधीमा २८/३० प्रतिशत रोपाइँ सकिएको भएपनि निषेधाज्ञाका कारण यो बर्ष रोपाइँ ढिलो भएको उनले बताए । मनसुन ढिलो सक्रिय हुनुका साथै कतिपय स्थानमा हिउँदे धान काट्न ढिला भएकाले पनि यो बर्ष रोपाइँ ढिलो भएको उनले जानकारी दिए ।

नेपाल कृषि प्रधान देश भएको र यहाँका अधिकांश मानिस कृषि पेशामा निर्भर रहेकाले बर्सेनि धान दिवस मनाउने गरिएको छ । २०६१ साल मंसिर २९ गते मन्त्रिपरिषदले निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर