Aamsanchar

मेचीनगर नगरपालिकाले नगर गौरवका खेलाडी घोषणा र मजदुर हितका लागि कोषको स्थापना गर्ने

Author Image
मङ्गलवार, असार १५, २०७८

 

मेचीनगर । मेचीनगर नगरपालिकाभित्र बसोबास गरी खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा मेचीनगरलाई चिनाउन सफल र राष्ट्रिय खेलाडीका रुपमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मेचीनगर नगरपालिकाले नगर गौरवका खेलाडी घोषणा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रमको सामाजिक विकास सम्बन्धि नीतिमा यसलाई प्राथमिकतामा राख्दैं सम्मान तथा प्रोत्साहनको व्यवस्था गरिएको छ । मेचीनगरले फूटबल, भलिबल, क्रिकेट, बुद्घिचाल व्याडमिन्टन, मार्शल आर्टलगायतका थुप्रै राष्ट्रिय खेलाडीका रुपमा प्रतिनिधित्व गर्ने व्यक्तिलाई जन्माएको छ ।

नगरपालिका प्रमुख विमल आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा खेलकुदको क्षेत्रलाई निक्कै प्राथमिकतामा राखिएका कारण यो नीति लिईएको हो । फूटबल, भलिबल, क्रिकेट, बुद्घिचाल, व्याडमिन्टन, मार्शल आर्ट जस्ता खेलको विकास र प्रवद्र्घनका लागि मेचीनगर स्तरीय टिम निर्माणका लागि विभिन्न समयमा प्रतियोगिता सञ्चालन गर्ने नीति समेत नगरपालिकाले लिएको छ । यसका लागि नगरक्षेत्रभित्र रहेका नदी उकास तथा सार्वजनिक जग्गाहरु मध्ये उपयुक्त जग्गामा नगरस्तरीय खेल मैदान, पार्क, खुलाक्षेत्रको विकास गर्ने समेत नीति लिईएको छ ।

साथै मेचीनगर गोल्डकप र मेचीनगर रोलिङ्ग क्लब ए डिभिजन प्रतियोगिता सञ्चालनका लागि अवश्यक बजेट व्यवस्थापन गर्ने समेत नीति नगरपालिकाले लिईएको छ । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई स्वरोजगार बनाउनका लागि समेत आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा सम्बोधन गरेको छ । नीति तथा कार्यक्रममा युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । स्वकिृत मापदण्ड अनुसार नगरभित्र बसोवास गर्ने गरीवहरुको पहिचान गरी विपन्न परिचय पत्र वितरण गर्ने, बालमैत्री नगर घोषणाका लागि आवश्यक कार्य पुरा गरेर बालमैत्र मेचीनगर घोषणा गर्ने, बालबालिकाको शारिरकि र मानसिक विकास तथा सहभागितामा वृद्धि गर्न नगरस्तरीय वाल सञ्जाल, स्काउट र रेडक्रस गठन गरी सञ्चालन गर्ने समेत सामाजिक विकास सम्बन्धि नीतिमा उल्लेख गरिएको छ ।

नेपालको संविधानले उल्लेख गरेको हरेक नागरिकलाई सफा स्वच्छ र शुद्घ पानी पिउन पाउने नैसर्गिक अधिकारलाई पुरा गर्न नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ मा मेचीनगर नगरपालिकाले नगरभित्रका सवै घरधुरीमा खानेपानी पुर्याउन सहलगानीमा खानेपानी आयोजना सञ्चालन गर्ने नीति लिईएको छ । यसका साथै सामूदयिक विद्यालय र क्याम्पसहरुमा शुद्घ खानेपानीको व्यवस्था गर्ने, ग्रामीण खानेपानीको आयोजनाको खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाईने नीति अघि सारेको छ ।

सुत्केरी पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइने, आदिवासी जनजातिको समाधिस्थल वा दाहसंस्कार स्थल संरक्षण र व्यवस्थापनका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने, नगरपालिकाभित्र वसोवास गर्ने आदिवासीहरु मध्ये मेचे जातिलाई प्रथम जाति घोषणा गरी सम्मान गर्ने, न्यायिक समितिको कार्यलाई थप व्यवस्थित गदैं वडागत संरचना आवश्यक व्यवस्थापन गरी प्रभावकारी बनाईने , संगठित र असंगठित क्षेत्रका मजदुरहरुको स्वास्थ्य बीमाको व्यवस्थापनका लागि मजदुर पञ्जिकरण गर्ने र मजदुर हितका लागि कोषको स्थापना गरी सञ्चालन गर्ने, सम्बन्धित सवै उद्योगा र निजीक्षेत्रको समेत सहभागितामा मजदुरहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविरसहितका कार्यक्रम कार्यान्वयन गर्ने समेत सामाजिक विकास सम्बन्धि नीतिमा सम्बोधन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर