Aamsanchar

मेचीनगरद्वारा कृषकहरुलाई आधुनिक कृषियन्त्र हस्तान्तरण

Author Image
आइतवार, साउन १७, २०७८

मेचीनगर । मेचीनगर नगरगाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ ।नगरपालिकाले आइतबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ नगरपालिकाले कदम चालेको बताउनुभयो । कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानलाई प्रत्यक्ष अनुदानको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँका किसानहरुलाई लागतको ५० प्रतिशत अनुदानमा आधुनिक कृषियनत्र औजार वितरण गरेको हो । नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनौट भए पनि अनुदान प्राप्त गर्नेको संख्या ६८ रहेको छ ।

आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा उनीहरुलाई हाते ट्याक्टर २७, कुटि काट्ने मेशीन ४७, मकै गोड्ने मेसीन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेसीन र साइलेज कटर एक – एकवटा वितरण गरिएको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गर्नुभएको थियो । नगरप्रमुख आचार्यले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा स्थानइ सरकारले राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मललाई प्रतिस्थापित गरी प्राङरकि मलको प्रयोग बढाउन विशेष योजनाका साथ कार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवम् गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । अब कृषि पेसालाई प्रोत्साहन गर्दै कृषिलाई आधुनिक व्यावसायिक र व्यवस्थित गर्न राज्यले निरन्तर रूपमा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयन पनि गर्नुपर्ने उहाँको भनाई छ । कृषि क्षेत्रमा व्यवस्थित गर्न कार्ययोजनासहित बजेट व्यवस्थापन गरेको उपप्रमुख उप्रेतीको भनाई छ ।

यसबाट नगरका धेरै कृषकहरु लाभान्वित भएको नगरपालिकाका कृषि प्राविधिक टेकेन्द्र प्रधानले जानकारी दिनुभयो । परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका नगरका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् ।

कृषि मजदुर र खेताला पाउन छाडेपछि किसानहरूले खेतबारी जोताउन पावर टिलर, हाते ट्रयाक्टर, धान रोपाइँ मेसिनदेखि बाली भित्रयाउनसमेत कृषि उपकरणकै प्रयोग गर्न थालेको नगरपालिकाका कृषि प्राविधिक कविता पौडेलले जानकारी दिनुभयो ।

कृषि उपकरण प्रयोग गर्न थालेपछि खेतीपातीका लागि किसानहरूलाई सहज पनि भएको तथा उब्जाएको बाली व्यवस्थापन गर्न कडा परिश्रम र समयको पनि बचत भएको कृषकहरुको भनाई छ । कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँचसँगै कृषकहरूले आफ्ना खेतबारीमा उब्जाएका बाली भित्रियाउन सहज भएको छ ।

खेतबारीमै थ्रेसरलगायतका आधुनिक यन्त्र पुग्न थालेपछि आफूहरूलाई निकै सहज भएको किसानहरूको अनुभव छ । पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने, बाली निफन्ने जस्ता थुप्रै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको किसानहरू बताउँछन् । यसकारण पछिल्लो समय किसानहरुको कृषियन्त्रतर्फ आकर्षण बढ्दो छ । कृषियन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषक कृषियन्त्रतर्फ आकर्षित भएको उनीहरू बताउँछन् ।

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएपछि आजकाल खेताला पाउन मुस्किल हुने गरेको किसानहरू बताउँछन् । त्यसैकारण पनि कृषि उपकरण आफ्नो रहर मात्रै नभइ बाध्यता पनि भएको उनीहरूको भनाइ छ । धेरै खेती भएका किसानहरूलाई यी सबै समस्या समाधानका लागि बाली काट्नेदेखि, रोप्ने, सम्याउने सबै काम कृषियन्त्रले गरेपछि श्रम, लगानी र समय सबैको बचत भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर