Aamsanchar

पछिल्लो समय कोभिड १९विरुद्धको भ्याक्सिनप्रति सर्वसाधारणको आर्कषण, झापामा ९९ प्रतिशत सञ्चारकर्मीले भ्याक्सिन लगाएको महासंघको भनाई

Author Image
शनिवार, साउन २३, २०७८

मेचीनगर ।  झापा मेचीनगर— ६ काँकरभिटट्टाका ५८ वर्षीय शिवराम दाहालले कोभिड १९ विरुद्घको भ्याक्सिन लगाउन शुरुमा निक्कै आलटाल गर्नुभयो । कोभिडको पहिलो लहर शुरु भए लगत्तै भ्याक्सिन उपलब्ध भएपनि अनर्गल प्रचारबाजीका कारण खोप लगाउन उहाँले मान्नु भएन् ।

स्थानीय बलिराम खवासले पनि गतवर्ष यो भ्याक्सिन लगाउनु भएन् । कारण थियो भ्याक्सिनको अनर्गल प्रचारबाजी । उसवेला निक्कै सहज थियो रे, भ्याक्सिन उहाँहरुको उमेर समूहका लागि । तर, आफैमा डर त्रास उत्पन्न भएपछि दुवैले यो भ्याक्सिन लगाउन आलटाल गर्नुभयो । तर दोस्रो भेरियन्टको कोरोना भाइरस नेपाल भित्रिएपछि उहाँहरु दुवैजनाले खोप लगाउन मरिहत्ते गर्नुभयो । नजीकैको स्वास्थ्य केन्द्रमा पुगेर निक्कै ठूलो भीडलाई छिचोल्दैं चाइनाबाट ल्याइएको भेरोसिल खोप लगाउँदा दुवैजनालाई ठूलै लडाई जितेको भान भयो ।

उहाँहरुमात्र होइन् झापाको मेचीनगरमा विस्तारै कोरोना खोपप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । ‘गत बर्ष अनर्गल प्रचारबाजीका कारण खोप लगाउने न्यून रहेका थिए’ काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ठ अहेव लेखनाथ खतिवडाले भन्नुभयो—‘पहिलो लहरमा भ्याक्सिन लगाउन आउनु भन्दा समेत कोहि आउनु भएन डरले । हामीले धेरैलाई भ्याक्सिन लगाउन आग्रह गरेका थियौं । सर्वसाधारणले भ्याक्सिन लगाउन नमाने पछि यो केन्द्रबाट संयौ खोप फिर्ता पठाउनु परेको थियो ।’ पहिलो लहरका बखत काँकरभिट्टा स्वास्थ्य केन्द्रमा २ हजार भ्याक्सिन ल्याईएको भएपनि ६ सय ५० जनाले मात्र कोभिड १९ विरुद्घको भ्याक्सिन लगाएका थिए । सर्वसाधारणले भ्याक्सिन लगाउन नमानेपछि बाकी सवै फिर्ता गर्नुपरेको अहेव खतिवडाको भनाई छ । पछिल्लो समय कोभिड १९ संक्रमितको मृत्यु र संक्रमणको दर बढ्दै गएका कारण सर्वसाधारणहरुको भ्याक्सिनतर्फ आर्कषण बढेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

भ्याक्सिन लगाउँदा सर्वसाधारणमा आत्मविश्वास र उच्च मनोबल बढ्ने, भ्याक्सिन लगाएको मानिसमा यदि कोभिड १९ को संक्रमण देखिए पनि आइसियू, भेन्टिलेटर, एचडीयू, अक्सिजनलगायतको खासै आवश्यकता नपर्ने वा त्यति खतरा नहुनेमा सर्वसाधारण ढुक्क भएपछि अहिले मेचीनगरका हरेक खोपकेन्द्रमा सर्वसाधारण खोप लगाउन तछाड मछाड गदैं पुग्ने गरेको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा अन्तर्गतको कोभिड १९ नियन्त्रण कार्यदल सचिवालय सदस्य स्वास्थ्यकर्मी सविता सापकोटा निरौलाका अनुसार पहिलो लहरमा भ्याक्सिन लगाउनेको संख्या न्यून भएपनि दोस्रो भेरियन्टको कोरोना भाइरस नेपाल भित्रिएपछि खोप लगाउदा सुरक्षित हुने विश्वासका साथ खोपप्रति सर्वसाधारण आकर्षित बनेका हुन् । उहाँका अनुसार नगरमा अहिले धेरैले स्वतःस्फूतमा कोभिड १९ विरुद्घको भ्याक्सिन लगाउने गरेका छन् । पहिलो लहरका बखत भ्याक्सिन लगाउन मानिस नआउँदा सुनसान हुने खोपकेन्द्रहरु दोस्रो भेरियन्ट शुरुभएपछि र खोप लगाउने कार्य सञ्चालन गरेपछि ती खोपकेन्द्रमा अहिले थामी नसक्नुको मानिसको भीड छ । खोपकेन्द्रमा सर्वसाधारणको भीड बढेपछि नगरपालिकाले प्रत्येक वडाको जनसंख्याको आधारमा निश्चित खोप सम्बन्धित वडामा पठाएर कुपन प्रणाली लागू गर्नुपरेको छ ।

कुपन बितरण गरे पछि खोप केन्द्रमा अनावश्यक भीडभाड नभएको खोप लगाउने कार्य ब्यवस्थित भएको सम्बन्धित वडा कार्यालहरुले जनाएका छन् । काँकरभिट्टा स्वास्थ्य केन्द्रमा साउन १२ र १३ गतेसम्म कोभिड १९ विरुद्घको भेरोसिल खोपको पहिलो मात्रा लगाउने व्यवस्था गरेको थियो । पहिले कुनै पनि खोप नलगाएका व्यक्तिहरु काँकरभिट्टा स्वास्थ्य केन्द्रमा मेचीनगरका ५ देखि ८ नम्बर वडासम्मका ५५ वर्ष माथिका सवै नागरिकहरुलाई खोप लगाउने तय भए पनि झिसमिसैदेखि सर्वसाधारणको भीड बढेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी विष्णुप्रसाद घिमिरेको भनाई छ । भ्याक्सिन भन्दा लगाउने आउने मानिसको संख्या बढि भएकाले भ्याक्सिन माग गर्नुपरेको घिमिरेको भनाई छ । यसअघि खोप लगाउँदा निकै न्युन सहभागिता भएकोमा यसपटक भने खोप लगाउन तछाड मछाड गदैं मानिस आउने गरेको घिमिरेको भनाई छ । अपेक्षा गरेको भन्दा बढी संख्यामा मानिसहरु खोप लगाउन आएको बताउँदै घिमिरेले उपलब्ध भएको खोप भन्दा मानिसहरु धेरै संख्यामा आउँदा खोप पुर्याउन नसकेको खोप अभाव भएपछि थप खोप माग गरिएको बताउनुभयो ।

नगरपालिकाले साउन १४ र १५ गते शिक्षक, कर्मचारी, प्राध्यापकहरु, सार्वजनिक यातायातका चालक र सहचालकहरु, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र विदेश जान भिषा लागेका व्यक्तिहरु, पेट्रोलियम व्यवसायमा संलग्न फ्रन्टलाईनमा काम गर्ने कामदारहरु, फ्रन्टलाईनमा काम गर्ने यस अघि छुट भएका स्वास्थ्यकर्मीहरु,तथा सुरक्षाकर्मीहरु, भन्सार एजेन्ट, निर्माण व्यवसायी संघ बैकिङ सेवाको क्यास काउण्टरमा काम गर्ने कर्मचारी र सुरक्षा गार्डलाई खोप उपलब्ध गराएको थियो ।

खोपप्रति जनमानसमा विस्तारै विश्वास बढ्दै गएको भन्दैं घिमिरेले विगतमा जस्तासुकै भ्रामक समाचारहरु बाहिर आए त्यस्ता भ्रामक समाचारको पछि नलागी विगतमा खोप लगाएका सर्वसाधारणमा समेत खोप प्रभावकारी भएपछि पछिल्लो समय खोप लगाउन सबै आतुर देखिएको तर्क अघि सार्नुभयो ।

सर्वसाधारणमात्र होइन राज्यको चौथो अंगको रुपमा रहेका धेरै झापाली सञ्चारकर्मीहरुले समेत पहिलो लहरमा भ्याक्सिन लगाएनन् । ‘शुरुमा केही सञ्चारकर्मीहरुले लगाउनुभयो धेरैले लगाउनु भएन्’ नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले भन्नुभयो—‘शुरुमा भ्याक्सिन सम्बन्धि परामर्श अभावका कारण चेतना अभाव थियो । धेरैले कोभिड एकपटक आयो गयो भन्ने मात्र बुझे । कोभिड १९ को सक्रमणको दोस्रो भेरियन्ट शुरु भएपछि सवैलाई डर त्रास भयो । खोपले केही गर्छ कि भन्ने अनुमान गर्न थालेकै कारण पछिल्लो समय सञ्चारकर्मीहरुले समय खोप लगाउन थाल्नुभएको छ ।’ भ्याक्सिन लगाएका मानिसमा कोभिड १९ को सक्रमण भए खासै समस्या नआउने अध्यक्ष गिरीको तर्क छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाले पनि जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय झापा झापाली सञ्चारकर्मीलाई खोप लगाइएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । अहिले ९९ प्रतिशत झापाली सञ्चारकर्मीहरुले कोभिड १९ विरुद्घको भेरोसिल, कोभिशिल्ड तथा जनसन एण्ड जनसन खोप लगाईसकेको अध्यक्ष गिरीको भनाई छ । फ्रन्ट लाइनमा बसेर काम गर्ने सञ्चारकर्मीहरुलाई लक्षित गरी नेपाल पत्रकार महासंघले झापा शाखाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेर जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत खोप लगाइएको महासंघका कोषाध्यष रणजित प्रसाईको भनाई छ । उपाध्यक्ष केशव भट्टराई जोखिम मोलेर फिल्डमा खटिने सञ्चारकर्मीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । खोप लगाएपछि सुरक्षित हुने विश्वासले खोप लगाएको झापाली सञ्चारकर्मी हरिकृष्ण भण्डारीको भनाई छ । उहाँले खोप लगाएपछि सुरक्षित हुने विश्वासका साथ आफूले खोप लगाएको बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)