Aamsanchar

आज रवि सप्तमी (रविबारको सप्तमीलाई दुर्लभ मानिन्छ)

Author Image
आइतवार, साउन ३१, २०७८

हप्ताका हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसअर्थमा रविबार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रविबारको सप्तमीलाई दुर्लभ मानिन्छ ।

यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।

सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्रः
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।

सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवमा अनेक रूपमा पर्छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसअर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै हिसाबले जरुरी छ ।

हुन त, सूर्य नारायणलाई धर्म र विश्वासबाट फरक रूपले हेर्ने हो भने सूर्य आफैँमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म पनि । संसारका हरेक धर्म र पहिचानका मानिसहरूले कुनै न कुनै रूपमा सूर्यप्रति आफ्नो साधुवाद र भक्ति दर्शाउने गर्छन् ।

सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको विकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई अध्यात्मिक रूपमा परिभाषा गरिएको छ ।

सूर्य भगवानलाई प्रातःकालमा सात्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादिदेव महादेवको स्वरूप मानिन्छ भने सन्ध्याकालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।

उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।

बाह्रकलाले युक्त यस्तो विशेषता भएको भागवन् सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णुआदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।

सामान्यतया सूर्यलाई प्रशन्न बनाएर शुभफल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रवि सप्तमीको शुभ संयोगबाट या शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन छ । यस्तो शुभ संयोगको अवसरमा रातो बस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नुपर्छ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्रवटा आइतबार व्रत बस्नुपर्छ । व्रतको दिन प्रातः सूर्यनारायणको पूजा अर्चना गरी अर्घ निवेदन गरी व्रत बस्न सकिन्छ ।

यस्तो व्रत आदि उपसना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रानुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पीडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पीडा कम हुने र सूर्यनारायणको शुभ–आशिर्वाद प्राप्त हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 465

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१