Aamsanchar

महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरको एउटा उद्योगका सीईओ पक्राउ

Author Image
बुधवार, भदौ २, २०७८

विराटनगर – महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ मा रहेको एउटा उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। ट्राइकोट इण्डस्ट्रिज प्रा. लि.का सीईओ सञ्जय चाण्डोकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार उद्योगमा कार्यरत महिलालाई दुर्व्यवहार गरेको आरोप लागेपछि भारतीय नागरिक चाण्डोकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको हो। उनी ४ वर्षदेखि उद्योगमा कार्यरत थिए।

उद्योगको एचआर (मानव संशाधन) फाँटमा कार्यरत २४ वर्षीया महिला कर्मचारीमाथि गत जेठमा चाण्डोकले यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनलाइनबाटै छनोटमा परेपछि महिलाले जेठ ९ गतेदेखि उद्योगमा काम गर्न थालेकी थिइन्। चाण्डोकले व्यक्तिगत कुराहरु सोधीखोजी गर्ने, रातिराति फोन गरेर दुःख दिने, काममा चित्त नबुझेको भन्दै दबाबमा राख्ने र विभिन्न गतिविधि देखाएर आफ्नो काबुमा पार्न खोज्ने गरेको आरोप महिलाको छ।

गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन्। महिलामाथि दुर्व्यवहारको घटना बाहिरिएपछि करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरुले मंगलबार दिनभर उद्योग घेराउ गर्दै नारबाजी र प्रदर्शन गरे। महिलामाथि दुर्व्यवहार गर्ने र पुरुष कामदारलाई कामबाट निकाल्ने धम्की बारम्बार सीईओ चाण्डोकले दिइरहेको गुनासो उनीहरुको छ।

‘दुर्व्यवहारको घटनालाई लिएर उद्योगका मजदुर आन्दोलित भएपछि सीईओलाई नियन्त्रणमा लिइएको हो,’ डीएसपी श्रेष्ठले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’ अनुसन्धान पूरा भएपछि घटनाको वास्तविकता खुल्ने जानकारी उनले दिए।

उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाई पटकपटक दुर्व्यवहार गरेका कारण पीडा सहन नसक्दा बाध्य भएर आन्दोलन गर्नु परेको श्रमिक धिरज विष्टले बताए। उनका अनुसार उद्योगमा काम गर्ने अरु मजदुरलाई पनि चाण्डोकले अनआवश्यक दुःख दिएर हैरान बनाएका थिए। विष्टले एकै पटक आन्दोलनमा उत्रिएका करिब ३ सय मजदुरले सीईओलाई उद्योगबाट बर्खास्त गरिनुपर्ने र उनीमाथि कानुनी कारबाही हुनपर्ने माग राखेको बताए।

मजदुरले श्रम ऐनले तोकेअनुसार सेवा सुविधा उद्योगबाट नपाएको गुनासो पनि गरेका छन्। उनीहरुले तत्काल नियमअनुसार सुविधा नपाए थप आन्दोलन चर्काउने चेतावनी पनि दिए। तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३ सय ५० जनाभन्दा बढी मजदुर कार्यरत छन्। १ सय ५० जनाजति महिला कामदार छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर