Aamsanchar

आज विराटनगरमा खटयात्रा निकालिँदै, झापा र मोरङसहित ३ जील्लामा सार्वजनिक बिदा

Author Image
मङ्गलवार, भदौ १५, २०७८

विराटनगर- विराटनगर महानगरपालिकामा मंगलबार खटयात्रा निकालिँदै छ। कृष्ण जन्माष्टमीका भोलिपल्ट वर्षेनि भव्य र विशाल रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्राका ठाउँमा खटयात्रा निकालिने भएको हो। हजारौँ भक्तजनको उपस्थितिमा भव्यसँग निकालिँदै आएको रथयात्राको ९० औँ संस्करण कोरोना महामारीका कारण सम्भव नभएपछि रूप परिवर्तन गरेर खटयात्रा निकालिने भएको हो। विराटनगरमा रथयात्राको सुरुवात नै खटयात्राबाट भएको इतिहास छ। विराटनगरमा परम्पराको निरन्तरताका लागि मात्रै भए पनि खटयात्रा निकाल्न लागिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए।

महामारीका कारण गत वर्ष पनि खटयात्रा मात्रै निकालिएको थियो। भीडभाड गर्दा कोरोना महामारीको जोखिम हुने भएकाले सीमित उपस्थितिमा खटयात्रा निकालेर बजार परिक्रमा गराइने ओझाले बताए। उनका अनुसार यसअघि निकालिने रथयात्रामा सहभागी हुनका लागि गाउँगाउँबाट र नेपालसहित छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गरेका थिए। उनका अनुसार यो वर्ष खटयात्राको रुट परिवर्तन गरिएको छ। विराटनगर पानीट्यांकी चोकस्थित मन्दिरबाट राधाकृष्ण युगल जोडीको मूर्तिलाई खटमा राखेर तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा लगेर राखिने छ।

यसअघि मन्दिर परिसरबाट निस्कने रथयात्रालाई ट्राफिक चोक, महेन्द्र चोक, मुनालपथबाट बरगाछी, पानीट्यांकी हुँदै मन्दिर परिसरमै लगेर समापन गर्ने गरिएको थियो। ‘दर्शन गर्नलाई धेरैभन्दा धेरै भक्तजनको सुविधाका लागि रुट परिवर्तन गरिएको हो,’ उनले भने, ‘खटलाई गाडीमा राखेर विस्तारै गुडाउँछौँ, भक्तजनले सडक किनारबाट दर्शन गर्नु सक्नुहुने छ।’

विराटनगरको राधाकृष्ण मन्दिरदेखि विसं १९८८ बाट खटयात्रा सुरु गरिएको थियो। विसं २०२४ सालयता भने खटयात्रालाई रुपान्तरण गरेर रथयात्रा निकाल्न थालिएको हो। रथसँगै पुरानो खटलाई पनि बजार परिक्रमा गराइन्थ्यो। महामारीका कारण रथ तान्न अप्ठ्यारो हुने भएपछि खटलाई गाडीमा राखेर बजार परिक्रमा गराउन लागिएको ओझाले बताए। प्यागोडा शैलीको २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाईको रथ भने मन्दिर परिसमा नै राखिने छ।

यसैबीच विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा मनाउन प्रदेश १ सरकारले मंगलबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। रथयात्राका ठाउँमा खटयात्रा निकालिने भए पनि सरकारले झापा मोरङ र सुनसरीमा जिल्लामा सार्वजनिक बिदा दिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर