Aamsanchar

कुश बारे महत्वपूर्ण जनकारी

Author Image
मङ्गलवार, भदौ २२, २०७८

आज हिन्दु परंपरा अनुसार घर घरमा कुश राख्ने चलन रहेको छ । स्थानिय गुरु पुरहित बटुकहरुले घर घरमा कुश राख्ने गर्छन । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको आयुर्वेदिक तथा औषधीय महत्त्व पनि छ ।

व्राह्मणहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको महत्त्वबारे वर्णन गरिएको छ । हिन्दूधर्ममा कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ ।

कुश किन आवश्यक

यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक मन्त्रकासाथ दिने चलन छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रिकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग वीणादि कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ ।

देवी देवताको पूजामा अभिषेक, प्राण प्रतिष्ठा, प्रायश्चित, दशविध स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देव कार्यमा साहिँली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउनु, कुशलाई कम्मरमा सिउरिनु धार्मिक विधी हुन् । यद्यपि वैज्ञानिक दृष्टिकोणबाट पनि यसो गरिनु लाभदायक मानिएको छ । भनिन्छ कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।

आयुर्वेदिक महत्व

नुहाउँदा, जप गर्दा, होम, स्वाध्याय, सन्ध्या, देवपूजा यज्ञ यज्ञादी कार्य गर्दा हातमा कुशको दण्ड लिएर बस्नु सनतनी हिन्दुहरुले गर्ने कर्महरुको विशेषता हो । आयुर्वेदिक उपचारमा पनि कुशको खास महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ ।

कुश मानवले धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।

शारीरिक स्वास्थ्यका लागि कुश

मानिसको जन्मदेखि मृत्युसम्मका बिभिन्न धार्मिक कर्महरुमा कुश नभइ हुँदैन । तर, कुश किन आवश्यक छ भन्ने कुरा धेरैलाई थाहा छैन । कतिपय मानिसहरु कुशको प्रयोगलाई केबल औपचारिकता पूरा गरेको ठान्छन् । तर, त्यस्तो ठान्नु गलत हो । कुशको प्रयोगमा वैज्ञानिक कारण पनि छ ।

जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको हो । ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन । कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

श्रोत : हाम्रो पात्रो, विकिपिडिया, विभिन्न अनलाइनहरु ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर