Aamsanchar

यस्तो छ कुशको वैज्ञानिक र धार्मिक महत्त्व

Author Image
मङ्गलवार, भदौ २२, २०७८

काठमाण्डाै – कुशे औँसीको नामकरण मूलतः कुश बाट गरिएको हो । कुशलाई सनातन हिन्दू दर्शनमा भगवान् विष्णुको प्रतीकको रूपमा समेत लिइन्छ ।    कुशलाई विष्णुको प्रतीक मानिनुको कथा भने सारै रोचक छ । सारमा भन्दा कुश कामदेवकी पत्नी रतिले भगवान् विष्णुलाई दिएको श्रापसँग जोडिएको पाइन्छ । तसर्थ भगवान विष्णुले रतिको श्रापलाई शिरोधार्य गर्न कुशको रूपमा आफु अवस्थित रहेको देखाएका धार्मिक ग्रन्थमा उल्लेख छ । 

धार्मिक पक्ष

पूर्वीय दर्शनमा कुशको धार्मिकलगायत अन्य महत्त्व अर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुराण आदिमा वर्णित छ । कुश हिन्दू सनातनमा जन्मदेखि मृत्युसम्म अपरिहार्य मानिन्छ ।  यसबाहेक तात्त्विक रूपमा पनि कुशको महत्त्व कम आकलन गर्ने खालको छैन । यो काट्दा पनि अठिलो भइरहने, टुक्रा नहुने, विभिन्न रोगको उपचारमा प्रयोग हुने, विकिरण र खराब कणलाई समेत शोषण गर्ने यसका केही सामान्य दृष्टान्त हुन् ।

वैज्ञानिक महत्त्व

शास्त्रले दश किसिमको कुश मानेको छ । त्यसमा पहिलो भनेको वनस्पति कुश नै हो । कुशका पनि दश किसिमका नाम छन्, कतै बर्भि भन्छन्, कतै दर्भ भन्छन् । कुशका पनि जाति–प्रजाति फरक छन् । तर जुनसुकै भए पनि त्यसले केही फरक पर्दैन । 

धार्मिक काम गर्दा कुशको आसन अर्थात् कुशासनको बेग्लै महत्त्व छ । आसन त कपडा, काठदेखि लिएर अन्यको पनि बनाउन सकिन्छ ।  तर, कुशको आसनमा बसेर काम गर्दा पवित्र हुनुका साथै त्यसले शुद्ध गर्ने बताइएको छ । शुद्ध यस मानेमा कि कुशले कीटाणु नाश गर्ने समेत बताइएको छ ।   

कुशमा जुन ऊर्जा छ, त्यो अरू वनस्पतिमा छैन । कुशको आसनमा बस्दा मन एकाग्र हुने, शान्त हुने, भक्तिभाव बढ्ने कुरा साधकहरूले बताउने गरेका छन् ।  वैज्ञानिक हिसाबले हेर्दा पनि कुशलाई अनिष्ट निवारक पनि मानिन्छ । त्यस कारण ग्रहण लाग्दा पानीमा कुश राखिदियो भने त्यो चोखो रहन्छ । त्यहाँ अनिष्ट तत्त्व आएर प्रवेश गर्न पाउँदैन, अर्थात् विकिरणहरूले त्यहाँ असर गर्न सक्दैन ।  रोग निवारण, आयु वृद्धि तथा तेज बढ्ने यसका अन्य वैज्ञानिक आधार हुन् । तर, यसमा हामीले व्यापक अनुसन्धान भने गर्नु जरुरी छ । 

ऋषिहरूले बताएका तथा वेदमा समेत उल्लेख भएको हुनाले हामीले यसलाई शाश्वत मानेका छौँ । तर, यसमा वैज्ञानिक अनुसन्धान पनि गरेर अगाडि ल्याउँदा यो सबैका लागि आधिकारिकसमेत बन्न जान्छ ।

रौँबाट उत्पत्ति

कुशे औँसी तथा कुशको महत्त्वको सन्र्दभमा प्राध्यापक माधव भट्टराई भन्नुहुन्छ, ‘शास्त्रमा कुशको उत्पत्ति भगवानको रौँबाट भयो भन्ने कुरा धेरै ठाउँमा पुराणमा पनि लेखिएको छ ।’  बराह अवतार लिने भगवानको शरीरबाट एउटा रौँ खस्यो र त्यसबाट कुश बनेर आयो भनेर भनिन्छ । वेददेखि लिएर आजको दिनसम्म पनि कुशको महत्त्व छ ।    कुशविना हाम्रो कुनै कामै चल्दैन । धर्म, कर्म चल्दैन । ‘कौ पृथ्वीव्याम शेते’ भगवानको शरीरबाट पृथ्वीमा झरेर आएपछि त्यो कुश बन्यो । 

पृथ्वीमा ऊ बस्यो, सुत्यो अर्थात् उम्रन थाल्यो । कुश धारण गर्यो भने उत्तम गति प्राप्त हुन्छ भनेको हुनाले हामीले पितृ कर्म गरौँ या देव कर्म गरौँ जुन कर्म गर्दा पनि कुश अनिवार्य छ ।   कुशले के पनि गर्दो रहेछ भने ज्ञान पनि दिने आयु पनि दिने । वेदमा यसलाई आयुस्य भनिएको छ । अर्थात् मेरो आयु वृद्धिका लागि म कुश धारण गर्दैछु भनिएको छ ।  कुश भएन भने सुनको टुक्रा वा चाँदीको टुक्रा लगाएर भए पनि गर्नु भनेको छ, कुशको प्रतीकको रूपमा । 

कुशे औँसीको दिनको कुशको महत्त्व 

कुश भित्र्याउने दिन भएको हुनाले आजको दिनलाई कुशे औँसी भनिएको हो । कुशे औंसीको दिन प्रयोग गर्ने कुशको काट्ने अथवा उखेल्ने पनि केही विधि छन् ।  खासमा कुश उखेल्नुपर्ने हो । उखेलेको कुशको जराको अर्कै महत्त्व छ, जरामा पनि बेग्लै शक्ति छ ।  कुश जहिले पायो त्यस बेला काट्ने अनि भित्र्याउने गर्नु पनि हुन्न ।  कुशे औँसीको दिन भित्र्याएको कुश वर्ष दिनसम्म पूजा, सङ्कल्प वा पितृ कार्य गर्नुपर्यो भने हामीले यसको प्रयोग गर्छौं । 

साहित्यमा कुश

साहित्यमा आउने कुशल शब्द पनि कुशबाट नै आएको हो । कुश ल्याउन सक्ने अर्थात् कुश ल्याउँदा पनि हात नकाटी ल्याउन सक्नेलाई साहित्यमा कुशल भनिएको हो । 
नेपाली साहित्य वा संस्कृत साहित्यमा आउने कुशल शब्द कुशबाट नै आएको हो ।  पहिले गुरुकुलमा बसेर हात नकाटिकन कुश ल्याउने शिष्यलाई स्याबासी दिँदै धन्यवादसहित कुशल भन्ने गरिन्थ्यो ।  नेपाली साहित्यको सन्दर्भमा कुरा गर्दा आज मोती जयन्ती पनि हो । कविता लेख्नेहरूका लागि कविता लेख्न प्रेरणा दिने दिन पनि हो । 

पितृको सम्मान गर्ने दिन

यसको अर्को महत्त्व भनेको पितृको सम्मान गर्ने हो । कुशे औँसी अर्थात् भाद्र कृष्ण अमावस्याका दिन पिताको सम्मान गर्ने पितृको सम्मान गर्ने, पितृलाई तर्पण दिने, पिण्ड दिने वर्ष दिनमा सबैभन्दा उत्तम दिन नै यसलाई मानिन्छ । 

यस दिन बाबुको मुख हेर्ने दिन भनेको अरू बेलामा बाबुसँग त्यति भेट नहुने र सम्झना अनि सम्मान पनि हुने हुनाले यसलाई पर्वको रूपमा मनाउन थालिएको हो ।  बाबुको मुख हेर्ने भनेको प्रतीकका रूपमा पितृको सम्मान गर्नु हो ।  अमेरिकामा पनि ‘फादर्स डे’ अनि ‘मदर्स डे’ भनेर मनाउने प्रचलन देखिन्छ । त्यस दिन उपहार दिने, पसलमा पनि छुट दिने प्रचलन रहेछ । उनीहरूले हामीबाट सिकेर यसको सुरुवात गरेका हुन् ।  उनीहरूले हाम्रो राम्रो कुरा सिकेर लागू गर्दैछन् । तर, हामीले भने बिर्सन थाल्यौँ, बेवास्ता गर्न थाल्यौँ । त्यस कारण राम्रो कुरा सबैबाट सिक्नुपर्छ । 

कुशे औँसीपछि भाद्र शुक्ल पक्ष सुरु हुन्छ । यस पटक दुई वटा तिथि टुटेको छ । दुई वटा तिथि टुटेको पक्ष भनेको १३ दिनको पक्ष हो । जसलाई विश्वघस्र पक्ष भनिन्छ । यसमा भने हामी जागरुक हुने, सर्तक रहने गर्नुपर्छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 417

प्रतिक्रिया (०)

सम्बन्धित खबर