Aamsanchar

सुटिङको लागि अभिनेता अमिताभ, डेनी, अनुपंम सहितको टोली नेपाल आउने

Author Image
बुधवार, भदौ २३, २०७८

कोरोना भाइरस महामारीका कारण ठप्प मनोरञ्जन क्षेत्र विस्तारै चलायमान बन्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ ।

बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सुटिङका लागि नेपाल आउने भएका छन् । उनी बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण गर्ने ‘उचाइ’ फिल्मका सुटिङका लागि नेपाल आउन लागेका हुन् ।

सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइने छ । फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ । अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउने सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री व्हिलर्स फिल्म्सका सुरज आचार्यले बताए । उनकै कम्पनीले विगत तीन वर्षदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडि बढाएको थियो । ‘यो प्रोजेक्टका लागि तयारी थलिएको लामो समय भइसकेको छ ।

उनीहरु एकपटक आएर बुझेर फर्किसक्नु भएको छ,’ लाइन प्रोड्युसर आचार्यले भने, ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ, फिल्मको काम कोरोनाले गर्दा केही समय ढिलो भयो ।’

सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसंगै बलिउडबाट अन्य धेरै फिल्म छायांकनका लागि आउने संकेत गरे । ‘धेरै प्रोडक्सन हाउससँग कुराकानी भइरहेको, केवल खाँचो छ त सुरुवातको,’ उनले भने । ‘उचाइ’ फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी हुन् । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुगेका छन् ।

फिल्मको छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा र काठमाडौंको आसपासमा पनि हुनेछ । ‘हामीले काठमाडौंमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौं,’ प्रोडक्सन म्यानेजर रेग्मीले भने । उनले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताए । ‘हामीले सिनको डिमान्डअनुसारको लोकेसन छानेका छौं र लोकेसन फाइनल गर्न आउने टोलीलाई देखाउने छौं,’ अरुणले भने ।

फिल्ममा डैनी डेन्जोंगपाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर शुरु हुने बुझिएको छ । फिल्मको छायांकन हिमाली भेगमा हुँदा त्यसले पर्यटनमा टेवा पु¥याउने ट्रेकिङ गाइड तिलकराम राईले बताए । ‘मैले धेरै पर्यटकलाई घुमाएको छु, त्यसैले गर्दा विश्व लोभिने लोकेसन सजेस्ट गर्नेछु,’– तिलकले भने । उनले हिमाली भेगको लोकेसन सुझाइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 606

प्रतिक्रिया (०)

सम्बन्धित खबर