Aamsanchar

आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्रीगणेशको जन्मनोउत्सव

Author Image
शुक्रवार, भदौ २५, २०७८

आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्रीगणेशको जन्मदिन । हिन्दू धर्मावलम्बीहरू हरेक शुभकार्य, कर्मकाण्डी प्रक्रिया, पूजा–आजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि श्रीगणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्रीगणेशको नाम सर्वदा अगाडि आउँछ । यसैकारण पनि सनातन हिन्दू धर्मावलम्बीहरूबीच एउटा चर्चित भनाई नै छ, ‘शुभकार्यको श्रीगणेश गर्ने ।’ यो दिन गणेशलाई ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि छ ।

महिनौँदेखिको तिजको रौनक हिजो सकियो । महिलाहरूले हिजो गरेको कठोर निराहार, निर्जल व्रतको थकान छ । अझै केही बाँकी नै छ होला । तर नयाँ उर्जाका साथ पक्कै पनि आजको दिन यदि शुरु गर्ने तर्खरमा हुनुहुन्छ होला । हिजो तृतिया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमूर्तिको जन्मदिन । कसै–कसैले आजको दिनलाई विनायक चतुर्थी पनि भन्छन् । गणेश भनौँ या विनायक भनौँ या गजाधर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान गाणेशकै हो ।

१०८ नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ । उनको जन्मकाबारेमा दुईखाले धारणा पाइन्छ । श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन् । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रूपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन । सोही समय पार्वतीलाई भेट्न भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन् भन्ने चाल नपाएरै गणेशको शीर छेदन गरिदिए । स्नानपश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक बिलौना गरेपछि देवादीदेव महादेव उत्तरतर्फ गई हात्तीको शीर ल्याएर गणेशको शरीरमा प्रतिस्र्थापित गरेको श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

अर्को किँवदन्तीका अनुसार, देवताहरूको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन् । गणेशलाई राक्षसी पथको बिघ्नकर्ता र देव पथको विघ्नहर्ताका रूपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थी नेपाल लगायत भारत, मौरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थीमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ ।

यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरू लगाएर ४ चरणमा पूजा गरिन्छ । प्राणप्रतिष्ठा अर्थात् भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात् सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, उत्तरपूजा अर्थात् प्रतिमालाई एक ठाउँबाट अर्को ठाउँ लैजान तैयार गर्ने अनि गणपति बिसर्जन अर्थात् प्रतिमालाई नदी, खोला अथवा सफा जलासयमा मा बिसर्जन गर्ने क्रमहरू हुन्छन् । यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारिक रूपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।

यस दिन देखिने चन्द्रमामा दोष हुन्छ । तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास छ । विशेषतः तराई क्षेत्रमा विभिन्न फलफूल र अन्य तिउन–तरकारी छिमेकीका करेसाबारीबाट या गोठबाट चोर्ने चलन छ । यस याममा हुने फलहरू जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका मौसमी फलहरू आजको रातको समयमा चोरिन्छ । एउटाको गोठबाट गाईगोरु फुकाउने र अर्काको गोठमा बाँधिदिने या खेतमा बाली खाने गरी छाडिदिने, रुखहरू काटिदिने आदिजस्ता रमाइलोका नाममा उट्पट्याङ्ग हर्कतहरू पनि गरिन्छ जुन अवश्य पनि राम्रो होइन ।

चाडपर्वहरू समानता र सौहार्द्रताको परिधिबाहिर जानु हुँदैन । चाडपर्वले समाजमा वैमनस्यता होइन, अपनत्व र सदासयता बढाउन सक्नुपर्छ । आजको साँझमा चन्द्र देखिहाल्नुभयो भने दोष कटाउन रचनात्मक तरिका अपनाउनुहोला । अनि यदि तपाईंको घरमा फलका वृक्षहरू छन् भने राति बसेर तिनको सुरक्षा गर्नुहोला । किनभने आज चौथीका चोर चौथी हान्न सक्रिय हुन सक्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 502

प्रतिक्रिया (०)

सम्बन्धित खबर