Aamsanchar

इतिहासको सहर काडमाडौंमा यस कारण मनाईन्छ इन्द्रजात्रा

Author Image
आइतवार, असोज ३, २०७८

काठमाडौँ एउटा इतिहासै इतिहासको शहर हो । देवादीदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरबासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै एउटा अनमोल प्राचीन सम्पत्ति भएको छ ।

संसारका धेरै विकसित मानिने राष्ट्रहरू विश्व मानचित्रमा अस्तित्व नै नभएको शताब्दीयौँ अगाडि काठमाडौँले आफ्नो हरेक चोक चौराहमा बेग्लै महत्व बोकेको मठ–मन्दिर, सभ्यताका फरक देवलहरू, बाहाल तथा विहारहरू र समानताका लागि न्यायोचित न्याय प्रणालीसँग समाज विकासका आधारहरू तैयार गरिसकेको थियो ।

काठमाडौंको माटो र आवुहवामा सभ्यता र शान्तिको एउटा स्वाद छ । अनि काठमाडौं देवता र मन्दिरको मात्र शहर नभई विविधतासहितका अनेक चाडवाड र प्राचीन सभ्यताको शहर पनि हो । इन्द्रजात्रा अर्थात् नेपाल भाषामा ‘येँया पून्ही’, काठमाडौं शहरको प्राचीन बस्ती बसन्तपुरमा मनाइने सबैभन्दा ठूलो चाडहरूमध्ये एक हो ।

शुरु गरौँ किंवदन्तीबाट जसका अनुसार स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालाई बसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौं शहरमा आएर बगैँचाको मालीलाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसीबीच सडकमा बाँधेर ढालेपछिको दृश्यसहितको मूर्ति प्रदर्शन गरिएको लोककथन छ ।

काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ । यसरी आफ्नो खातिर काठमाडौंबासीले बन्धनमा पारेका छोरा इन्द्रलाई त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने किँवदन्ती अझै पनि जनजिब्रोमा जीवितै छ । इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

नेवार परम्परा अनुसार भाद्र शुक्लपक्ष ‘यँलाथ्व द्वादशी’को दिन मनाइने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर ‘यँलागाः चौथी’ अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न देवी–देवतासँग सम्बन्धित नाच, गान र रथयात्रा ९विशेषतः कुमारी, भैरव र गणेश० गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रहिआएको छ । अनुहारमा विभिन्न देवी देउताका ’ख्वापाः’ (अर्थात् मुखौटा) लगाई नेवार समुदायका विभिन्न गुठी र समूहहरू मिली नाचगान गर्ने गरिन्छ ।

तान्त्रिक विधिद्वारा पूजाआजा गरी एउटा विशेष प्रक्रियाका लागि तयार पारिएको कालो बोकोलाई काभ्रे जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छाडिएपछि उक्त बोकोले त्यस जङ्गलमा सर्वप्रथम छोएको रूखलाई काटेर एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । यसरी तयार भएको लिङ्गोलाई स्थानीय नेपाल भाषामा ‘योंसी’ समेत भनिन्छ । उक्त लिङ्गोलाई बसन्तपुर दरवार स्क्वायरस्थित हनुमानढोकामा अवस्थित विशाल काल–भैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजा आजाको प्रक्रियापश्चात् लिङ्गो ठड्याइएपछि ‘इन्द्रध्वजोत्थान’ सम्पन्न हुन्छ । प्रारम्भ हुन्छ विधिवत् रूपमा इन्द्रजात्राको चहलपहल ।

यसरी तयार पारिने विशेष लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ । लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरिन्छ ।

लिंगो ठड्याउने परम्परा पनि एकदमै विशेष सांस्कृतिक प्रक्रिया अनुसार सम्पन्न गर्ने गरिन्छ । यस क्रममा नेपाली सेनाको ब्यान्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधून बजाएर यस महत्वपूर्ण प्रक्रियामा संलग्न हुन्छन् । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा वर्षमा एक पटक हनुमानढोका दरबार क्षेत्रस्थित श्वेतभैरवको मन्दिर सर्वसाधारणका लागि दर्शन, पूजाहेतू खुला गर्ने गरिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आजा गर्ने गरिएको छ । काठमाडौंमा दशौं शताब्दीका लिच्छवीकालीन राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा शुरूवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाडौंका बुद्धमार्गी नेवार समुदाय र हिन्दू मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ ।

सनातन् र पुरातात्विक महत्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मिकी रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत्संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।

पुराणमा उल्लेख भएनुसार, प्राचीनकालमा देवता र असूरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो ।

स्वर्गलोग र पृथ्वीमा समेत यस विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । साथै पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धिका लागि इन्द्रध्वजा स्थापना गर्ने परम्परा चल्न थालेको हो ।

साथै लिङ्गो ठड्याइएको तीन दिनपछि बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र आकाश भैरव ९सवभकु०को समेत रथयात्रा गर्ने परम्परा रहिआएको छ । आठ दिनसम्म राजधानीको हलचोक (भक्कुनाच हलचोक) को आकाश भैरव, भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा (किलागलको पुलुकिसी) पुलुकिसी नाच नचाउने परम्परा रहिआएको छ । साथै यस विशेष आठ दिने अवधिमा कुमारीघर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दशावतार समेत देखाइने गरिएको छ ।

काठमाडौंबाट करिब ७.२ किलोमिटर पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने चलन पनि रहिआएको छ । मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।

लिङ्गो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन ‘क्वहने याः’ भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ । यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् ।

इन्द्रजात्राको विभिन्न प्रक्रियागत् सांस्कृतिक विधिहरू अन्तर्गत् बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा दियो–बत्ती बालेर नगर परिक्रमा गरिन्छ । यसरी आयोजन गरिने दियो–बत्तीसहितको विशेष जात्रा काठमाडांैका मानन्धर समुदायले गर्ने गर्दछन् । यंलाथ्व पूर्णी अर्थात् इन्द्रजात्राको चौथो दिन ‘थहने याः’ भनी शाक्य बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा निकाल्दै बुधबार तल्लो टोल (दक्षिण) र बिहीबार माथिल्लो टोल (उत्तर)मा परिक्रमा गराइन्छ ।

सोही दिन साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भुवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ गरिन्छ । उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौं नगरबस्ती बाहिरका बाटोहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात् भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजाअर्चना गर्दै दियो दान गर्ने परम्परा छ । उक्त मूर्ति नेपाल सम्वत् ३८९ मा राजा मानदेवले आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए । यसै दिनदेखि घरघरमा काठले बनेको दलुचा (झ्यालमा झुण्ड्याउने एक प्रकारको दियो) झुण्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन रहिआएको छ ।

यस विशेष दिन नेवार समुदायका मानिसहरूले ‘सम्यबजी’ (चिउरा, रांगाको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, सागमिश्रित विशेष खाजा) खाने चलन छ । यंलागा चौथी अर्थात् इन्द्र जात्राको अन्तिम दिन ‘नानिचा याः’ भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ ।

यसरी विभिन्न चरण र सांस्कृतिक झाँकीसहितको आठ दिनसम्म नेवार समुदायले इन्द्रजात्रा हर्ष र उत्साहका साथ मनाउँदै आएका छन् ।

नेपाली मौलिक सांस्कृतिक विविधतासहितका विभिन्न महत्वपूर्ण पलहरू झैँ विशेष महत्व बोकेको इन्द्रजात्राका प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा जयप्रकाश मल्लको पालादेखि चलिआएको छ । कान्तिपुर (काठमाडौं)का अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ । हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा हेर्ने प्रचलन निरन्तर छ ।

नेपालका राष्ट्रप्रमुख, राष्ट्रपतिले पनि कुमारी जात्रा अवलोकन गर्ने चलन छ । नेवारीमा काठमाडौं अर्थात् ‘येँ’, ललितपुर अर्थात् ‘यल’ अनि भक्तपुर अर्थात् ’ख्वप’ लगायत कीर्तिपुर, दोलखा, बनेपामा इन्द्रजात्राको रौनकको विशेषता भिन्नाभिन्नै छ । पुस्ताँदेखि चलिआएको यस्तो जात्रा र पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कारको अद्भूत संगमको इतिहास बोकेको छ ।

कृषि सुहाउँदो यो मौसममा उपलब्ध विशेष कुहिरोलाई इन्द्रको उपहारका रूपमा काठमाडौंबासीले लिएको कुरा पनि इन्द्रजात्राले ब्याख्या गर्दछ । शताब्दीयौँ पुरानो यी जात्राहरू निरन्तर रूपमा चलिआएका छन् । बसन्तपुर दरबार स्क्वायर अनि मठ–मन्दिर अगाडि प्रदर्शन हुँदै आएका यी जात्राहरू मनाउन भुइँचालोपश्चात् मठ, मन्दिरहरू पहिलेको अवस्थामा छैनन् । तर यस जात्रामा परापूर्वकालदेखि देखिँदै आएको काठमाडांैको जोशमा उर्जा उत्तिकै छ । यी सांस्कृतिक धरोहरहरूको पारम्परिक निरन्तरता र यसको रक्षार्थ सबैजना एकजूट हुन जरुरी छ । इन्द्रको आशिष कायम रहोस् । देशमा बालीनाली सप्रियोस् । अनि शान्तिले सबैको हृदयमा बास गरोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर